nepal news
विशाल चौतारी समाचार
चितवन, २०७४ श्रावण १८ बुधबार । पहिरोको कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डमा अनुगमनका लागि प्धानमन्त्री पुगेका छन्। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा सेनाको हेलिकोप्टरमा अवरुद्ध सडकखण्डको अवलोकनमा पुगेका थिए।
विभिन्न स्थानमा आइरहने पहिरोका कारण चार सुरक्षाकर्मी समेतको ज्यान गइसकेको छ। यात्रु सर्वसाधरण समेतको मृत्यु भइरहेको छ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा सेनाको हेलिकोप्टरमा अवरुद्ध सडकखण्डको अवलोकनमा पुगेका थिए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर, पूर्व रक्षामन्त्री बालकृष्ण खाँण पनि टोलीमा थिए। देउवाको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र सचिवालयका केही सदस्य समेत थिए।
सडक अनुगमनमा निस्किएका देउवा सेनाको हेलिकोप्टरमा दियालो बंगलामा ल्याण्ड गरे। अनि, दासढुंगा पुगे।
दासढुंगा पुगेका प्रधानमन्त्रीले सवैभन्दा बढी पहिरो प्रभावित क्षेत्र कालीखोलामा जान चाहे। तर, सुरक्षाका कारण भन्दै प्रधानमन्त्रीलाई सुरक्षाकर्मीले रोके।
त्यसपछि प्रधानमन्त्री लागे दासढुंगाकै प्रेसिडेन्सी रिसोर्टमा। त्यहाँ सडक विभाग र आयोजना कार्यालयद्वारा कार्यक्रमको तयारी नै थियो। र, प्रधानमन्त्री देउवाले सोही स्थानबाट सडक अनुगमन कार्यक्रमलाई मन्तव्य दिए। प्रधानमन्त्रीले भने ‘चाडोभन्दा चाडो सडक निर्माणको काम सक्नु।’
प्रधानमन्त्रीले ठेकेदार कम्पनीलाई सम्झौता अनुसार उपलव्धिमूलक काम गर्न निर्देशन दिए। उनले सरकारले सडक निर्माणमा श्रोतसाधन, बजेटको कुनै अभाव हुन नदिने बताए । डेढ वर्षदेखि मुग्लिन नारायणगढ सडकखण्डमा यात्रुलाई सास्ती छ। कहिले एकतर्फी रुपमा यात्रा गराइने गरिएको छ। कहिले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। लामो समयदेखि सडक विस्तारको काम भए पनि लक्ष्य अनुसार प्रगति भएको छैन।
प्रतिक्रिया