political news
विशाल चौतारी समाचार
जनकपुर, २०७४ भाद्र १३ मंगलबार । जनकपुर पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका छन् ।
प्रदेश नम्बर दुइको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका नेपाललाई राजपा कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेको हो । रामानन्द चोकमा आठ–दश जना राजपाका कार्यकर्ताले कालो झण्डा देखाउदै अवरोध गरेको थियो। त्यसलाई प्रहरीले तितरबितर पारेको थियो । त्यसपछि फेरि राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए ।
एमालेको कार्यकर्ता भेला पिडारी चोकमा चलिरहँदा कार्यक्रमस्थल बाहिर राजपाका केही कार्यकर्ताले कालोझण्डा देखाएका थिए । एमालेलाई मधेसबाट बढार्ने भन्दै उनीहरुले कूचोसमेत बोकेका थिए ।
उनीहरुले एमाले मूर्दावादको नारा लगाएपछि केही एमाले कार्यकर्ता बाहिर आएर लखेटेका थिए । चार(पाँच जनाले कालोझण्डा देखाएर एमाले बिरुद्ध नाराबाजी गरेको भेलामा सहभागी अनेरास्ववियु केन्द्रीय सचिव आरती लामाले बताइन् ।
प्रतिक्रिया