Bisal Chautari Logo

प्रहरीले देशभर खोजी गर्दा पनि नभेटेको फरार बालकृष्ण ढुंगेल एमाले सभासद्को छलफलमा

- २८ आश्विन २०७४, शनिबार ०७:१० मा प्रकाशित


Bal Krishna Dhangel discusses UML
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २८ शनिबार । फरार पूर्वसभासद् बालकृष्ण ढुंगेल एमाले सभासद्को छलफमा भेटिएको छ । पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई भौतिक आक्रमणको चेतावनी दिएपछि सर्वोच्च अदालतले मिति नै तोकेर पक्राउ गर्न ‘वारेन्ट’ जारी गरेपछि फरार भएका थिए ।
                                          गोलो घेरामा फरार बालकृष्ण ढुंगेल बानेश्वरको एकटा नीजी निवासमा चुनावी छलफलमा 

सर्वोच्च अदालतले गत चैत ३१ गते ढुंगेललाई तत्काल पक्राउ गरी सात दिनभित्र कारागार चलान गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो । पक्राउको जिम्मा लिएको प्रहरीले भने मुलुकभर खोजी गर्दासमेत ढुंगेललाई फेला पार्न नसकिएको बताउँदै आएको छ ।
सर्वोच्चले पक्राउसहितको प्रतिवेदन सर्वोच्चमा बुझाउनसमेत आदेश दिएको थियो ।उक्त आदेशसहितको पत्र वैशाख ३ गते नै प्रहरी प्रधान कार्यालय पुगे  लगत्तै १० वैशाखमा महानिरीक्षक प्रकाश अर्यालले मुलुकभरका प्रहरी कार्यालयलाई ढुंगेललाई पक्राउका लागि निर्देशन दिएका थिए ।
ढुंगेल बुधबार बेलुका नयाँ बानेश्वरस्थित बुद्धी कार्कीको घरमा भएको चुनावी छलफलका संलग्न रहेको बताउँदै त्यहाँ सहभागी निकटस्थ एक व्यक्तिले फोटोसमेत उपलब्ध गराएका छन्।
फोटोमा एमालेका ओखलढुंगा क्षेत्र नम्बर १ का सभासद् यज्ञराज सुनुवार, एमाले ओखलढुंगाका जिल्ला नेता नानीबाबु बुढाथोकी, माओवादी केन्द्रका नेता बाबुराम गौतम, मोहन खड्कासँगै ढुंगेल पनि संलग्न देखिन्छन् । माओवादी केन्द्रका नेता खड्का द्वन्द्वकालमा माओवादीद्वारा ओखलढुंगामा हत्या गरिएका शिक्षक गुरुप्रसाद लुइँटेलको ‘कर्तव्य ज्यान’ मुद्दाका अभियुक्त हुन् भने गौतम द्वन्द्वकालमै ओखलढुंगामा मारिएका सर्वसाधारण मस्तबहादुर तामाङको ‘ज्यानसम्बन्धी मुद्दा’ का अभियुक्त हुन् ।
आफूलाई जेल सजायको फैसला गर्ने प्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध भौतिक कारबाही गर्ने र उनीहरूका नाममा ‘वारेन्ट’ गर्ने जस्ता अभिव्यक्ति दिएको भन्दै सर्वोच्चमा अडियोभिडियो रेकर्डसहित दायर भएको एक अवहेलना मुद्दामा न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले तत्काल पक्राउ गरी कारगारमा बुझाउन आदेश दिएको थियो ।
ढुंगेलले गत वर्षको फागुन २९ मा रामेछापको सैपु गाविसको एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठ र सुशीला कार्कीको नामै किटेर धम्की दिएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले दिएको मुद्दामा सर्वोच्चले पक्राउका लागि सात दिने ‘वारेन्ट’ जारी गरेको थियो ।
‘निज जहाँ भए पनि खोजतलास गरी ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाई यस अदालतमा प्रतिवेदन पेश गर्नू भनी नेपाल प्रहरीका महानिरीक्षकका नाउँमा यो आदेश जारी गरिएको छ ।’
सर्वोच्चले २०६८ कात्तिक २२ गते ढुंगेलको सजाय माफीका लागि राष्ट्रपतिसमक्ष गरेको सिफारिस रोकिदिएको थियो । त्यसपछि सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले फैसला कार्यान्वयनका लागि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पठाएको थियो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा ढुंगेललाई सर्वोच्च अदालतको संयुक्त इजलासबाट ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।

प्रतिक्रिया