Bisal Chautari Logo

मछिन्द्रनाथको काममा रमाउँदै सेवकहरु

- १२ बैशाख २०७५, बुधबार १०:२२ मा प्रकाशित


The servants serving in Machindranath’s work

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १२, बुधलबार । मछिन्द्रनाथको जात्रामा मीननाथको रथ बाँध्दै आउनुभएका चिरीकाजी महर्जन अहिले छोरा भतिजालाई सिकाउने र सघाउने गर्नुहुन्छ ।

रातो मछिन्द्रनाथको जात्रामा काठको काम सकिएपछि बेतले रथ बाँध्नेलाई ञँवाल भनिन्छ । ञँवालहरुले पुस्तौदेखि यो काम गर्दै आएका छन् । उमेरका कारणले पनि महर्जन अहिले रथमाथि चढ्न आँट नआउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी पाकाले सिकाउने र ठीटा चढ्ने हो ।’ उहाँको पूर्खाले परम्परादेखि यो काम गर्दै आएको छ ।

उहाँका परिवारका बाजे र काका रथबाट लडेर घाइते नै हुनुभयो तैपनि काम छाड्नुभएन, उहाँले भन्नुभयो, “अहिले पनि काम गर्ने जोश कम भएको छैन । ”

“आफ्नो परिवारले नै गर्दै आएकाले आफू गर्दा रमाइलो लाग्छ, मछिन्द्रनाथको जात्राका क्रममा हुुने कामलाई यहाँका रकमेहरुले उत्सव मान्छन्,” महर्जनले भन्नुभयो ।

रथ बाँध्न नौ जना ञँवालाको दरबन्दी हुन्छ । तीमध्ये छजना ज्यालाका काम गरेर १५ जनाले मीननाथको रथ बाँध्दै आएका छन् । उनीहरुको खान्की जग्गा छैन । उहाँ भन्नुहुन्छ, “असुरक्षित भए पनि मछिन्द्रनाथको इतिहास जोगाउन काम गरिरहेका छौं । ”

मछिन्द्रनाथको जात्राको तयारीदेखि जात्रा अवधिभर विभिन्न काममा आवद्ध हुने जात आफूलाई मछिन्द्रनाथको काम गर्न पाएकोमा खुशी हुन्छन् । परम्परादेखि नै विभिन्न काम फरक÷फरक जातको जिम्मेवारी हुन्छ ।

मछिन्द्रनाथका सेवकलाई गुठी संस्थानको भाषाअनुसार रकमे भनिन्छ । उनीहरुमध्ये धेरैका नाममा पहिले जग्गा थियो । उनीहरु आफैं मोहीबाट कुत बुझ्थे । अहिले कतिपय जग्गा रैकर भइसकेको छ । रैकर नभएको कतिपय जग्गामा रकमे आफैं र कतिमा कार्यालयले कुत बुझेर दिन्छन् । कार्यालयले रकमेका लागि खान्की उपलब्ध गराउँदै आएको छ ।

जग्गा भएका र नभएका आफ्ूले गर्दै आएको काममा गर्व गर्छन् । पूर्खाले धान्दै आएको संस्कृतिलाई जोगाउन पाउँदा उनीहरु गर्वको महसुस समेतगर्छन् । मछिन्द्रनाथको जात्राका क्रममा राँगो काट्दै आउनुभएका ८७ बर्षीया भोसी शाही अझैसम्म काम गर्दै हुनुहुन्छ ।

उहाँ आफूलाई याद भएदेखि नै मछिन्द्रनाथको जात्राका लागि मासु काट्दै आउनुभएको हो । भगवानको काम गर्न पाउँदा उहाँलाई खुशी लाग्छ । उहाँ भन्नुहुन्छ, “भगवानको काम गरेरै मर्न पाउँदा आनन्द लाग्छ ।” उहाँपछि उहाँका सन्तानले नै यो काम गर्नेछन् । काम गरेबापत जग्गा नभए पनि पारिश्रमिक लिएर काम गर्दै आउनुभएको छ ।

नेपाल पञ्चाङ्ग निर्णय समितिका सदस्यसमेत रहनुभएका कीर्तिमदन जोशीको परिवारले रातो मछिन्द्रनाथको जात्राका लागि साइत हेर्दै आएको छ । उहाँको बुबा र अहिले उहाँको भाइले साइत हेर्नुहुन्छ । गणक, लेखक, स्रोता र दर्शक गरेर चारजना ज्योतिषको दरबन्दीको व्यवस्था गुठीले गरेको छ । तर लामो समयदेखि दुईजना मात्रै कार्यरत छन् । आफूलाई याद भएदेखि खान्की जग्गा नभएको जोशी बताउनुहुन्छ ।

आफ्नो पुस्ताले गर्दै आएकामा आफूपछिको पुस्ताले पुख्र्यौली काम गर्ला कि छाड्ला भन्ने चिन्ता उहाँमा छ । उहाँ भन्नुहुन्छ, “अहिलेको पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको छ, हामीले संस्कृतिप्रतिको मोह कम हुन दिनुहुँदैन ।”

गुठी संस्थान ललितपुरका शाखा अधिकृत शैलेन्द्र पौडेलले मेरो बाबु–बाजेले गरेको काम छाड्नुहुँदैन भन्ने भावना रकमेहरुमा रहेको बताउनुहुन्छ । तोकिएको जात र त्यही परिवारका सदस्यले मात्रै मछिन्द्रनाथको काम गर्न पाउँछन्, उहाँ भन्नुहुन्छ, “त्यसैले पनि धेरैमा काम गर्न पाउँदा सम्मानित भएको महसुस गर्नुहुन्छ ।” अध्ययन वा रोजगारीको सिलसिलामा विदेश गएका कतिपय कामको समयमा आउने गरेका छन् ।

रकमेहरुको कामका आधारमा पारिश्रमिकको व्यवस्था गरिएको उहाँ बताउँनुहुन्छ । वर्षभर धेरै काम गर्नुपर्ने जातलाई धेरै र थोरै गर्नेलाई कम पारिश्रमिकको व्यवस्था हुन्छ । रकमेका लागि चामल, चिउरा, नुन, बेसार, अदुवा, मासुलगायतका खान्कीको समेत व्यवस्था गुठीले गर्दै आएको छ ।

मछिन्द्रनाथको सीमित स्रोतबाट खर्च गर्नुपर्ने बाध्यता रहेको पौडेल बताउनुहुन्छ । मछिन्द्रनाथको नाममा भएका जग्गामध्ये तैनाथी जग्गा गुठीले बढी आम्दानी लिनसक्छ । उहाँ भन्नुहुन्छ, “कतिपय जग्गा कहाँ छ थाहा छैन, कति थाहा भएर दर्ता हुन बाँकी छ र कतिको आम्दानी लिन नसकिएको छ ।”

रकमेहरु सबैको फरक÷फरक जिम्मेवारीहुन्छ । साइत हेर्ने काम ज्योतिष, पूजा गर्ने पानेजु फूल चढाउने माली, रंगरोगन गर्ने नेकुको जिम्मेवारी हुन्छ । भाँडाकुडा चढाउने कुमाले, रथ गुडाउन निर्देशन दिने सै–सै बाजे, भात पकाउने सुवाल, काठको काम गर्ने बाराही हुन ।

त्यस्तै, ञँवालले रथमा बेत बाँध्ने, घकुले रथ नियन्त्रण गर्ने गर्छन् । गुठीले यी रकमेको फरक–फरक संख्यामा दरबन्दीको व्यवस्था गरेको छ ।

प्रतिक्रिया