Bisal Chautari Logo

प्रदेश पाँचको राजधानी र नाम तोक्न आज मतदान हुदै

- २० आश्विन २०७७, मंगलवार ०८:०१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २० मंगलवार । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामकरण गर्ने प्रस्तावमाथि मंगलबार (आज) प्रदेशसभामा मतदान हुँदैछ । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम ‘लुम्बिनी’ र स्थायी राजधानी दाङको देउखुरी उपत्यका तोक्ने प्रस्ताव प्रदेशभामा पेस गरेका छन् ।

उक्त प्रस्तावमाथि आज मतदान गर्ने तयारी छ । मतदानका लागि प्रदेश सभाको बैठक बस्दैछ । सभामुख पूर्णबहादुर घर्तीमगरले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराएका छन् । सरकारले १६ गते संसदमा पेस गरेको प्रस्तावमा निर्वाचन हुने नेकपा संसदीय दलका सचेतक पार्वती पुनले जानकारी दिइन् ।

सत्तारुढ दल नेकपाले उक्त प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । तर विपक्षी दल नेपाली कांग्रेसले भने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

प्रदेश नम्बर ५ को प्रदेशसभामा ८७ सदस्य रहेका छन् । जसमध्ये दुई तिहाइका लागि ५८ मत आवश्यक पर्छ । सत्तारुढ दल नेकपाका ६१ सांसदमध्ये सभामुख र उपसभामुखले मतदान गर्न पाउँदैनन् भने बाँकी ५९ जनामध्ये केही सांसदले विपक्षमा मतदान गर्नसक्ने सम्भावना छ । यद्यपि नेकपाले पक्षमा मतदान गर्न ह्विप जारी गरेकाले यसमा तलमाथि हुनसक्ने देखिन्छ ।

प्रदेशसभामा कांग्रेसका १९, जनता समाजवादीका ६ र राजमोका एक सांसदको मत निर्णायक मानिने छ । सत्तारुढ दल नेकपाले लगाएको ह्विप नेकपामा सांसदहरूले मानेमा उक्त प्रस्ताव स्वतः पारित हुनेछ । हाल नेकपाका १४ जना सांसदले असहमति जनाएका कारण कतिले विपक्षमा मतदान गर्छन् भन्न सकिँदैन ।

प्रतिक्रिया