Bisal Chautari Logo

बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन सुरु

- २८ आश्विन २०७७, बुधबार ०५:०३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । धरानस्थित बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको  कोभिड–१९ अस्पतालका भेन्टिलेटरहरु ३ महिना पनि नपुग्दै बिग्रिएर उपचारमा आएका संक्रमितहरुलाई समस्या परेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

संघीय र प्रदेश सरकारको करिब साढे १२ करोड बजेटबाट तयार गरेको कोभिड अस्पतालमा जडान गरिएका १० वटा भेन्टिलेटर मध्ये ६ वटाले काम नगरेर थन्किएपछि  भेन्टिलेटरकै भावमा संक्रमितको ज्यान गएको  थियो ।

कोरोना महामारीको  बेला कोभिड अस्पतालको औषधी, मेशिन तथा उपकरण खरिदमा व्यापारीसँगको मिलेमतोमा उपकुलपति प्रा.डा ज्ञानेन्द्र गिरीका सल्लाहाकार भनिएका स्वकीय सचिव दिलिप भट्टराईको संलग्नतामा खरिद प्रक्रिया विपरित कमसल सामान खरिद गरेको आरोप लाग्दै आएको छ ।

कोभिड अस्पताल संचालन भएपछि बिरामीको उपचारलाई प्रभावकारी नबनाएको र उपचारमा संलग्न चिकित्सक नर्स र कर्मचारीलाई आवश्यक स्वास्थ्य सामग्री र खानपिनको उचित व्यवस्था समेत नगरेको भन्दै प्रतिष्ठान व्यवस्थापनविरुद्ध चिकित्सकले यसअघि आन्दोलन नै गरेका थिए ।

प्रतिष्ठानमै उपचाररत धरानका एक जनप्रतिनिधिले कोभिड अस्पतालको सेवा सन्तोषजनक नभएको गुनासो समेत गरेका छन् । धरान–८ का ५२ वर्षीय पुरुषको भेन्टिलेटर अभावमा एक साता अघि मृत्यु भएको थियो ।

कोभिड अस्पतालमा आर्थिक अनियमिता भएका र नयाँ खरिद गरिएका भेन्टिलेटर तीन महिना नपुग्दै बिग्रिएर काम नलाग्ने भएको गुनासो बाहिर आएपछि स्थलगत निरीक्षण गरी छानबिन अघि बढाइएको अख्तियार अनुसन्धान आयोग इटहरीले जनाएको छ । खरिद प्रक्रिया, सामानको विवरणलगायतका कागजातहरु मागिएको अख्तियारले जनाएको छ ।

यसअघि प्रतिष्ठानलाई करोडौं रुपैयाँ नोक्सान पु¥याएको ठहर भई अख्तियारले विशेष अदालतमा मुद्वा दायर गरिएका व्यक्ति चेतन अग्रवालसँग साँठगाठ गरि उपकुलपति ज्ञानेन्द्र गिरीले कमसल उपकरण खरिद गरेको खुलासा भएपछि अख्तियारको टोलीले स्थलगत छानबिन थालेको हो ।

प्रतिक्रिया