विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार । विराटनगरको कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय र सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगरका मृत पुरुषमा असोज २१ गते कोरोना पुष्टि भएको थियो ।
श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि केन्द्रमा भर्ना भएका पुरुष उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी रोगी थिए ।
यसैगरी सुनसरी धरान–१५ का ६६ वर्षीय पुरुषको केन्द्रमा बुधबार राति मृत्यु भएको हो ।
उनमा असोज २६ गते कोरोना पुष्टि भएको थियो । उनी श्वासप्रश्वासको समस्या भएपछि बुधबार मात्र केन्द्रमा भर्ना भएका हुन् । मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ रोगी भएकाो केन्द्रले जनाएको छ ।
बुधबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजनाको मृत्यु भएको थियो । तेह्रथुमका ४९ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो।
निमोनिया देखिएसँगै धनकुटा अस्पतालबाट असोज २५ गते रिफर भएर आएका ति व्यक्तिमा असोज २६ गते कोरोना पुष्टि भएको थियो । मृतक पुरुष दीर्घरोगी नभएको अस्पतालले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाले १२ जनाको मृत्यु भएको थियो । योसहित नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४ घण्टामा उपत्यकामा १४ सय ३ सहित नेपालमा २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ।
८० हजार ९५४ जना डिस्चार्ज हुँदा ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया