विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक २० बिहिवार । विगत केही दिनदेखि नेपालमा कोरोना भाइरसको परीक्षण (आरटी पीसीआर) रिपोर्ट नेगेटिभ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका हवाई यात्रुलाई विदेशमा पुगेलगत्तै पुनः परीक्षण गराउँदा धमाधम कोरोना पोजेटिभ देखिन थालेपछि नेपाल वायुसेवा निगमको नियमित अन्तर्राष्ट्रिय उडान नै प्रभावित भएको छ ।
विगत केही दिनदेखि लगातार एकपछि अर्को यस्ता घटना दोहोरिएपछि अहिले निगम व्यवस्थापन तनावमा परेको छ । सरकारद्वारा मान्यताप्राप्त विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना भाइरस परीक्षणको ७२ घण्टे पीसीआर नेगेटिभ रिपोर्ट लिएर उडेका यात्रुमा धमाधम पोजेटिभ रिपोर्ट देखिएका कारण अहिले यसको प्रत्यक्ष मार भने दैनिक हवाई यात्रु बोकेर विभिन्न गन्तव्यमुलुक पुग्ने निगमलाई परेको छ ।
जसका कारण विगत केही दिनदेखि हङकङ र दुबई विमानस्थलले कारबाहीस्वरूप निगमको नियमित व्यावसायिक उडान नै रोकिदिएको छ । निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले पछिल्ला केही दिनयता हङकङ, दुबई, जापानको नारितालगायतका गन्तव्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा समेत सम्बन्धित ठाउँमा पुगेलगत्तै गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाले निगमको उडान नै प्रभावित भएको बताइन् ।
यसले नेपालमा हुने कोरोना परीक्षणको विश्वसनीयतामा समेत गम्भीर प्रश्न उठेको भन्दै उनले कोरोना संक्रमित यात्रु किन ल्याएको भन्दै निगमलाई हङकङले अहिले दोस्रोपटक प्रतिबन्ध लगाएको समेत जानकारी गराइन् ।
निगमका अनुसार अहिले दुबई र नारिता विमानस्थलबाट समेत उडान प्रतिबन्ध लगाउन चेतावनीसहित प्रोटोकलको सूची आएको छ । सो प्राटोकल पालना नगरी यात्रु सम्बन्धित मुलुक पुगेमा त्यसको दोषी सम्बन्धित वायुसेवा नै ठहरिने गरेको छ । यसले निगमलाई अनावश्यक आफ्नो नियमित व्यावसायिक उडान प्रतिबन्ध हुँदा ठूलो आर्थिक घाटा हुने र प्रतिष्ठामा समेत आँच आउन लागेको भन्दै निगमले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
निगमले अहिलेसम्म आफ्नो तर्फबाट भने कोरोना भाइरस संक्रमण फैलनसक्ने जोखिमबाट बच्न सरोकारवाला निकायले तयार पारेका प्रोटोकल कार्यान्वयनका लागि कुनै कसुर बाँकी नराखेको दाबी गरेको छ । हाल कार्यान्वयनमा रहेको हवाई उडान प्रोटोकलअनुसार नेपालबाट निगमले उडान भर्ने गन्तव्यमा पछिल्लो ७२ घण्टायताको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट भएका व्यक्तिलाई मात्र हवाई यात्रा गर्न दिने प्रावधान छ ।
तर, सोही प्रोटोकलअनुसार कोरोना पीसीआर नेगेटिभ रिपोर्ट बोकेर गन्तव्यमा पुगेका यात्रुमा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको भन्दै निगमले यस्तो चिन्ता व्यक्त गरेको हो । यसअघि विदेशमा पुगेर यात्रुले पुनः कोरोना परीक्षणका लागि गरेको खर्चसमेत निगमले नै बेहोदै आएको थियो । अब निगम यस्तो जिम्मेवारीबाट पछिहटेको छ । निगमको यस्तो निर्णयपछि अब सम्बन्धित यात्रु आफैंले खर्च बेहोनुपर्ने भएको छ ।
प्रतिक्रिया