विशाल चौतारी समाचार
लमजुङ, कार्तिक २५ मंगलवार ।लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ हर्सिङडाँडामा प्याराग्लाइडिङको परीक्षण सफल भएकोे छ । सोमबार एक दिन सञ्चालन गरिएको प्याराग्लाइडिङमा पोखराको ओपन स्काई प्याराग्लाइडिङ प्रालिले सफल परीक्षण गरेको हो ।
हर्सिङडाँडामा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट नुरेन रानाले बताए । हिमाल तथा फाँटहरुको अवलोकनका लागि प्याराग्लाइडिङ रोमाञ्चक हुने अनुमानका साथ परीक्षण उडान गरिएको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
प्याराग्लाइडिङको सफल परीक्षणसंगै दृश्यावलोकनका लागि उक्त ठाउँ नयाँ गन्तव्य बन्न सक्ने उनको भनाई छ । हर्सिङडाँडालाई गाउँपालिकाले पर्यटकिय स्थलको रुपमा प्रवर्द्धन गर्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिकले बताए ।
अघिल्लो वर्ष सडक सञ्जालसँग जोडिएको हर्सिङडाँडा जाने सडकलाई यसवर्ष स्तरोन्नती गर्न गाउँपालिकाले बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले यस वर्ष हर्सिङडाँडामा खानेपानी, शौचालय निर्माण लगायतको संरचना तयार गर्ने योजना बनाएको गाउँपालिका उपाध्यक्ष बिकको भनाई छ ।
हर्सिङडाँडाबाट बुद्ध हिमाल, मनास्लु, ङादीचुली, डा.हर्क पिक, लमजुङ हिमाल, माछापुच्छ्रे लगायत थुप्रै हिमश्रृङ्खलाहरु नजिकैबाट नियाल्न पाइन्छ ।
यहाँ गाई, भैंसी, भेँडा बाख्रा लगाएतका चाैपायाँकाे लागि राम्रो चरनको व्यवस्था छ । समथर परेको घाँसे मैदान हेर्दा मनमोहक देखिन्छ । बेँसिशहरदेखि खुदी हुँदै करिब १८ किलोमिटर दुरीमा पर्ने हर्सिङडाँडा समुन्द्री सतहदेखि २ हजार ३ सय मिटर उचाइँमा रहेको छ ।
यहाँबाट रमणिय हिमश्रृङखलाहरुको दृश्य अवलोकन गर्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको गाउँपालिकाले जनाएको छ । यस ठाउँमा ऐतिहासिक महत्वको रुपमा सरदार भक्ति थापाको बाल्यावस्थामा गाई चराउने गरिएको किम्बदन्ति समेत रहेको छ ।
प्रतिक्रिया