Bisal Chautari Logo

चलचित्र ‘नाङ्गो गाउँ’को व्यापार ६ दिनमा  ३ करोड ३५ लाख

- ५ आश्विन २०८०, शुक्रबार १३:४८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
  २०८० असोज ५ शुक्रवार।
भदौको २९ गतेबाट रिलिजमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले बुधबारसम्मको व्यापारिक आँकडा सार्वजनिक गर्दै चलचित्रले ३ करोड ३५ लाख ग्रस कलेक्शन गरेको उल्लेख गरेको छ ।

चलचित्रले क्रमशः शुक्रबार ७० लाख, शनिबार ९० लाख, आइतबार र सोमबार ९० लाख, मंगलबार र बुधबार ८५ लाखको ग्रस कलेक्शन गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । नेपाली चलचित्रले हलमा दर्शक तान्न नसकिरहेको समयमा ‘नाङ्गो गाउँ’ले भने हलमा दर्शकलाई आकर्षित गरिरहेको छ । चलचित्रको यो व्यापारले अब निर्माता मुनाफाको बाटोमा लागेको देखिन्छ । हलमा बलिउड फिल्म ‘जवान’को दबदबा कायम रहनु, अर्को नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’सँग स्क्रिन शेयर गर्नु लगायतका वाध्यताका बिच पनि दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले सुखद कमाई गरेको हो ।

चलचित्र विकास बोर्डको सर्भरमा प्राप्त भएको रेकर्ड अनुसार यो चलचित्रको ६ दिनको व्यापार २ करोड ५४ लाख भएको देखिन्छ । तर, वितरक रोहितले विकास बोर्डको सर्भरमा सबै हलको बक्स अफिस नजोडिएकाले व्यापारमा फरक देखिएको हो । उनले, एक सातामा चलचित्रले साढे ३ करोडको कमाई गर्ने पनि बताए ।

यो चलचित्रको व्यापार विशेषगरि, काठमाडौ, पोखरा, झापा, चितवन, बुटवल र इटहरीमा बलियो छ । यसअघि, खासै दर्शक तान्न नसकेका हलमा समेत यसपटक यो चलचित्रले दर्शक तानेको निर्माणपक्षले दाबी गरेको छ ।

हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया