बिशाल राई
काठमाडौं, २०८१ बैशाख १३ बिहिवार । धार्मिक तथा पर्यटकीयस्थल साल्पा सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा–पारुहाङ र नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पापोखरी नजकिैमा नछुङको प्रतिमा स्थापना गरिएको हो ।
साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिको आयोजना र अभियानबाट देश–विदेशबाट सङ्कलित रकमबाट सुम्निमा पारुहाङ र नछुङको प्रतिमा निर्माण गरिएको आयोजक संस्थाका अध्यक्ष मुलघरे कान्छा राजेन खिम्बुले राईले जानकारी दिए ।
किरात समुदायको सांस्कृतिक पवित्र स्थल मानिने साल्पा सिलिचुङमा सुम्निमा पारुहाङ र नछुङको प्रतिमाको अनावरण निवर्तमान पर्यटनमन्त्री सुदन किरातीले गरेका हुन् । साल्पा सिलिचुङ किरातीहरुको मुन्दुमी तथा सांस्कृतिक स्थल भएकाले संरक्षण र प्रवद्र्धन गर्न प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष मुलघरे कान्छाले बताए । उनले भने ‘साल्पा र सिलिचुङ किरातीहरुको मुन्दुम तथा रिसियामा आउँछ । यसलाई संरक्षण र प्रवद्र्धन गर्दै विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने उद्देश्य राखिएको छ ।’ मुलघरे कान्छाले भने, ‘किराती धामीले साल्पालाई नाग देवता बस्ने थलो र सिलिचुङलाइ किरातीहरुले सृष्टिसँग जोडिएको ठाउँको रुपमा विश्वास गर्छन् ।’
प्रतिमा स्थापना कार्यक्रमका लागि यही वैशाख ५ गते सरोकारवाला साल्पा सिलिचुङ पुगेका थिए । मुन्दुम्विद् तथा धामी–झाँक्रीको टोलीले वैशाख ६ र ७ गते वृहत कार्यक्रम गरेर प्रतिमा स्थापना गरेका हुन् । साल्पा सिलिचुङको विकासका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार साल्पा सिलिचुङ परिसरमा सुम्निमा–पारुहाङका साथै मुन्दुमी पात्रहरुको मूर्ति तथा प्रतिमा, बाबु (चिण्डो) आकारको मुन्दुमी गेट (प्रवेशद्धार), माङ्खिम तथा मुन्दुम सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण गरिनेछ ।
‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत विश्वभर रहेका नेपाली जोडिएका छन् । यसअघि साल्पा–सिलिचुङको अध्ययन तथा अनुसन्धानका लागि अनुसन्धान समितिसमेत गठन गरिएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, मुन्दुम अध्येताहरु चन्द्र हतुवाली, भोगिराज चाम्लिङ, सालिक शतासक राई र डा. तारामणि राई उक्त अनुसन्धान समितिमा रहेका छन् ।
प्रतिक्रिया