Bisal Chautari Logo

चलचित्र ‘ईश्वर’मा अभिनेत्रि कृष्टिन गुरुङ प्रमुख भूमिकामा देखिँदै

- ७ श्रावण २०८१, सोमबार १७:१२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन ७ सोमवार
  गुरुङ चलचित्रमा अभिनय गरिरहेकी अभिनेत्रि कृष्टिन गुरुङ यही साउन ११ गतेबाट रिलिज हुने चलचित्र ‘ईश्वर’मा अभिनेत्रिकै रुपमा दर्शकमाझ आउँदैछिन् । यसअघि चलचित्र ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गरेकी उनी ‘ईश्वर’मा भने प्रमुख भूमिकामा नै छिन् ।

कृष्टिनका अनुसार चलचित्रका निर्माता ध्रुव थापा र माओत्से गुरुङका कारण उनी यो चलचित्रमा जोडिएकी रहिछन् । ‘उहाँहरु यो चलचित्रका लागि मंगोलियन अनुहारको नायिका खोजिरहनुभएको रहेछ । उहाँहरुसँग भेट भएपछि ईश्वरमा जोडिएँ’, कृष्टिन भन्छिन् ।

गुरुङ चलचित्रमा ग्रामीण चरित्र निर्वाह गरेकी कृष्टिनले ‘ईश्वर’ मा पनि त्यही चरित्रलाई निरन्तरता दिएकी छन् । ‘चलचित्रमा मेरो चरित्रको नाम मिनु हुन्छ । म विद्यालयकी शिक्षिका छु । म आफ्नो चरित्रबाट सन्तुष्ट छु’, कृष्टिन भन्छिन् ।

चलचित्रको ट्रेलरमा कृष्टिनसँग चलचित्रका अभिनेता ध्रुव थापा र कलाकार बुद्धि तामाङको प्रेम देखाइएको छ । ‘चलचित्रमा बुद्धि दाई मेरो फुपुको छोरा र म चाहिँ बुद्धि दाईको मामाको छोरी छु । नाताले हामी सोल्टी सोल्टिनी । हाम्रो संस्कृतिमा सोल्टी सोल्टिनीको हक लाग्ने भएकाले पनि हामीलाई एकअर्का प्रति नजिकिएको देखाइएको छ’, उनी भन्छिन् ।

कृष्टिनको अनुभवमा उनलाई मिनु चरित्र निभाउन केही चुनौती पनि अनुभव भएको रहेछ । ‘म सानो क्यारेक्टरबाट नेपाली चलचित्रमा आएकी हुँ । सुरुदेखि नै ठूलो क्यारेक्टरबाट आएको भए त्यो च्यालेन्ज हुँदैन थियो होला । तर ईश्वरमा केही च्यालेन्ज चाहिँ भयो’, कृष्टिनको बुझाई छ ।

कृष्टिनले सिरिज ‘क्राइम फाइल’मा मात्र आधुनिक गेटअपमा अभिनय गरेकी रहिछन् । ‘मलाई गाउँले जनराकै फिल्म मनपर्छ । त्यहीकारण अहिलेसम्म ग्रामीण किसिमकै चरित्र निभाइरहेकी छु । किनभने त्यही रहनसहनमा हुर्केकी छु । मलाई आधुनिक क्यारेक्टरमा फिट हुँदैन कि जस्तो लाग्छ’, उनी भन्छिन् ।

गुरुङ भाषाका चलचित्रबाट नेपाली चलचित्रमा आफूले पाइला टेकेकाले आफ्नो कामलाई दर्शकले मनपराइदिनेमा उनी ढुक्क छिन् । ‘म ईश्वरबाट आशावादी छु । अहिले ईश्वरमा नै ध्यान दिइरहेको छु । अरु चलचित्रको लागि कुरा गरेकी छैन् । ईश्वरबाट कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि अरु चलचित्र गर्ने या नगर्ने भन्ने टुंगो लाग्छ’, उनी भन्छिन् । चलचित्र ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ ।

प्रतिक्रिया