Bisal Chautari Logo

क्राइम थ्रिलर ‘देवी’ चलचित्रको गौरव र नाजिरको लुक्स सार्वजनिक

- १० श्रावण २०८१, बिहीबार १८:५२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन १० बिहिवार
नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ ।

चलचित्रले अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक गरेको हो । चलचित्रकी मुख्य अभिनेत्री शिल्पा मास्केको चरित्र पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । सञ्जोग राई चलचित्रका निर्देशक हुन् ।

चलचित्रले क्राइम थ्रिलर कथा पेस गर्ने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्र भदौ २१ गते रिलिज हुनेछ ।

‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको चलचित्र हो । सार्वजनिक प्रदर्शनका लागि यो चलचित्रले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ । चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ ।

यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरिरहेका राईले आफ्नो चलचित्रले महिलामाथि हुने यौनहिंसा विरुद्धको कथा पेस गर्ने बताउँदै आफूले यसमा व्यावसायिक भन्दा पनि इमान्दार भएर एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताए ।

चलचित्रमा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भुमिकामा पर्दामा प्रस्तुत हुनेछन् । चलचित्रमा गौरवका बुवा तथा वरिष्ठ अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको चलचित्रको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । चलचित्रलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

प्रतिक्रिया