बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन १४ सोमवार । चलचित्र ‘के घर के डेराः घर नम्बर २’को लाइनअप बलियो बनेको छ । यो चलचित्रको निर्माणपक्षले चलचित्रका मुख्य तीन पुरुष पात्रहरु फाइनल गरेको छ ।
चलचित्रमा अभिनेता आर्यन सिग्देलको प्रवेश भएको छ । चलचित्रको निर्माणपक्ष र आर्यनबिच लिखित संझौता भइसकेको छ । यो चलचित्रमा आर्यनको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन । तर, आफ्नो भूमिका र चलचित्रलाई लिएर आर्यन भने उत्साहित देखिएका छन् ।
आर्यनले अभिनय गरेको चलचित्र ‘पुजार सार्की’ जेठ १० गतेबाट रिलिजमा आएको थियो । यो चलचित्र बक्स अफिसमा हिट भयो । यसपछि, आर्यनको माग चलचित्र क्षेत्रमा बढेको देखिन्छ ।
दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन साउनको २५ गतेबाट सुरु हुँदैछ । चलचित्रमा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसकेका छन् । निर्माणपक्षका अनुसार, अब फिल्मका लागि मुख्य दुई अभिनेत्रि फाइनल गर्न बाँकी छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा बुद्धि सागरले लेखिरहेका छन् । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ । सामाजिक कथावस्तुलाई रोचक तरिकाले चलचित्रमा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए । चलचित्रलाई यही बर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया