Bisal Chautari Logo

यम शेर्पाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कार्साङ’को छायांकन सुरु

- १७ श्रावण २०८१, बिहीबार २१:१७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,
२०८१ श्रावन १७ बिहिवार ।
साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो ।

सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्र ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिए । केही दिन अघि यस चलचित्रको कलाकार र निर्देशकीय टिमको उपस्थितिमा चलचित्र ‘कार्साङ’को केही दिन काठमाडौंमा कार्यशाला (वर्कशप) चलेको थियो । 

बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको चलचित्रको मुख्य कलाकारमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै चलचित्रमार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन् ।

सृजनाले केही म्युजिक भिडियोमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

यस्तै, चलचित्रमा माओत्से गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोही थापा, कर्मा शेर्पा, छुकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।

यस अघि थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका निर्देशक यम शेर्पालेको यो डेब्यू निर्देशन चलचित्र हो । चलचित्रमा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । 

यस चलचित्रका निर्माता पुरुषोत्तम प्रधान हुन् । चलचित्रमा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको चलचित्रका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोख संगीत निर्देशक रहने चलचित्रको मुख्य सह-निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह-निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।

चलचित्रको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

प्रतिक्रिया