बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ भाद्र ८ शनिवार । भदौको १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘वर एण्ड वधु’को टिमले पूर्वका विभिन्न जिल्लामा पुगेर चलचित्रको प्रचार गरेको छ ।
चलचित्रका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य मोफसल टुरका क्रममा पूर्वका विर्तामोड, धरान, इटहरी र विराटनगर पुगे ।
मोफसल टुरका क्रममा उत्साहित देखिएको चलचित्रको टिमले दर्शकको उत्साहजनक साथ पाउने विश्वास गरेको छ ।
चलचित्रका निर्देशक मिलन चाम्सले ‘वर एण्ड वधु’ चलचित्र जस्तो फिल्म बनेको भन्दै दर्शकले उच्च क्यानभास उत्कृष्ट चलचित्र हेर्न पाउने जानकारी दिए । यो चलचित्रको छायांकन नेपालसँगै रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा गरिएको उनको भनाई थियो ।
चलचित्रका कलाकार किरण केसीले दर्शकले यो चलचित्रलाई साथ दिएको खण्डमा आफ्नो करिअरको नयाँ चरण सुरु हुने दाबी गरे । उनले भने–‘मैले काम गरेका सय बढी चलचित्रमा यो १–२ नम्बरमा पर्छ । चलचित्र हरेक कोणबाट उत्कृष्ट छ ।’
नायिका आँचल शर्माले ‘वर एण्ड वधु’ले दर्शकको आँखा शित्तल बनाउने दाबी गरिन् । चलचित्रमा लभ, रोमान्स, कमेडी, धोका सबै कुरा भएको भन्दै उनले दर्शकले पूर्ण प्याकेजको चलचित्र हेर्न पाउने बताइन् ।
यस्तै, नव–नायक विवेक कर्माचार्यले यो चलचित्रबाट आफू फिल्म क्षेत्रमा स्थापित हुने विश्वास व्यक्त गरे ।
निर्मात्री जानुका थापाले चलचित्रको कथावस्तु मन परेका कारण नै लगानी गरेको बताइन् । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा अमित रिजाल कार्यकारी निर्माता रहेको यो चलचित्रको ट्रेलर र गीतले दर्शकको साथ पाइसकेको छ । मोफसल टुरका क्रममा विभिन्न कलेजमा पुगेको चलचित्रको टिमलाई दर्शकले उत्साहजनक रुपमा स्वागत गरेका थिए । अधिकांशले चलचित्रको प्रचार सामाग्री मन परेको भन्दै हलमा गएर चलचित्र हेर्ने बताए ।
प्रतिक्रिया