Bisal Chautari Logo

‘खुस्मा’को देशैभर हाउसफूल व्यापार, उत्साहजनक दर्शक प्रतिक्रिया

- ६ आश्विन २०८१, आईतवार २३:०४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ असोज ६ आइतवार ।
गत बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ले बक्सअफिसमा राम्रो व्यापार गरेको छ । बिहीबारका विहानी शोबाट नै हाउसफूल सुरुवात गरेको चलचित्रको दिउँसोबाट हलमा दर्शकको चाप उच्च देखिएको थियो ।

शुक्रबार चलचित्रको व्यापार बिहीबारको तुलनामा केही कमजोर देखिए पनि शनिबार पुनः राम्रो व्यापार गरेको थियो। शनिबार बिहानी शोमा ५० प्रतिशत आसपासमा अकुपेन्सी देखिए पनि दिउँसो १२ बजेपछिका शोमा ८० देखि शतप्रतिसतसम्म अकुपेन्सी देखिएको थियो ।

वितरक गोविन्द शाहीले चलचित्रले काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा बम्पर व्यापार गरेको बताए । यसअघिका चलचित्रमा मोफसलको व्यापार काठमाडौं उपत्यकाको भन्दा कमजोर देखिन्थो । तर, ‘खुस्मा’को हकमा भने ठिक विपरित देखिएको वितरक शाहीको भनाई छ । विभिन्न हलमा अनलाइन टिकट बुकिङ साइट हेर्दा पनि वितरक शाहीको दाबी पुष्टी हुन्थ्यो ।

चलचित्रले मोफलका पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, बिराटनगर, धरान, इटहरी, दमक र विर्तामोड लगायतका शहरमा विहानी हाउसफूल व्यापार गरेको थियो । काठमाडौं उपत्यकामा भने दिउँसो १२ बजेपछिका शोमा दर्शकको चाप देखिएको भनाई वितरक शाही थियो । काठमाडौं उपत्यकाका हलमा दर्शकको चाप देखिएपछि चलचित्रका मुख्य कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।

प्रदर्शनरत चलचित्र ‘खुस्मा’मा दर्शकहरूले आफ्नो कामलाई निकै रुचाएकोमा अभिनेता धिरज मगर खुसी देखिए । ‘काठमाडौंसहित सबैतिर तेस्रो दिन पनि हाम्रो चलचित्र ‘खुस्मा’ हाउसफुल हुँदा खुसी लागेको छ । प्रतिक्रिया पनि एकदमै राम्रो मिलेको छ । यसका लागि म दर्शकहरूलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।

अभिनेत्री उपासना सिंह ठकुरीले पनि दर्शकबाट ‘खुस्मा’लाई सोचेकोभन्दा राम्रो प्रतिक्रिया मिलिरहेको बताइन् । ‘हामीले सोचेकै थिएनौं कि यति राम्रो प्रतिक्रिया मिल्छ होला भनेर । अधिकांश दर्शकले त मलाई भेटेर हामीलाई धेरै रुवाउनुभयो भनेर भन्नुभएको छ,’ उनले खुसी हुँदै भनिन्, ‘जसरी हामीले चलचित्रको कथा भन्ने प्रयास गरेका छौं, त्यसलाई दर्शकले रुचाइदिनु भएकाले पनि धेरै खुसी लागेको छ । कतिले त चलचित्रको सिक्वेल चाहिन्छ समेत भन्नुभएको छ । यो नै हाम्रो चलचित्रको सवैभन्दा ठुलो सफलता हो भन्ने लाग्छ ।’

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय चलचित्र हो । डकुमेन्ट्री चलचित्रबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय चलचित्र महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ । चलचित्रका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गरेका हुन् ।

प्रतिक्रिया