बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन १२ सोमवार । यही चैत्रको २३ गते नेपाल रोयल मल्टिप्रपोज प्रा.लिको एकल आयोजनामा ‘पाटन फेस्ट २०२५’ आयोजना हुने भएको छ । ललितपुरको च्यासल स्टेडियमा आयोजना हुन लागेको यो महोत्सवमा युवापुस्तामाझ लोकप्रिय ४ व्याण्डहरुले आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ ।
यो कार्यक्रममा प्रस्तुति दिन ४ व्याण्डमध्ये एक व्याण्ड भने फाइनल भइसकेको छ । युवापुस्तामाझ लोकप्रिय रहेको ‘जोन एण्ड द लोकल्स’ व्याण्डले आफ्नो प्रस्तुति दिने पक्का भएको छ ।
यो व्याण्डका गायक जोन चाम्लिङ राइको ‘हावा जस्तै, के गरौं, निहिती’ लगायतका गीतहरु चर्चित छन् । यस्तै, अन्य ३ व्याण्ड पनि केही दिनमै सार्वजनिक गरिने आयोजकले बताएको छ ।
यो कार्यक्रममा सहभागी हुनका लागि दर्शकले ६ सय, एक हजार र १२ सयको टिकट खरिद गर्न सक्नेछन् । साथै, टेबल बुक गर्न चाहनेले ३० हजारदेखि ६० हजारसम्मको टिकट खरिद गर्न सक्ने आयोजकले बताएको छ । खल्ती एपबाट दर्शकले टिकट काट्न सक्नेछन् ।
यस्तै, कार्यक्रममा सुविधासम्पन्न खानेकुराका लागि २० स्टल समेत राखिनेछ । आयोजकले यो कार्यक्रममा प्रवेश गर्ने दर्शकले सुविधा सम्पन्न र अत्याधुनिक प्रविधीबाट तयार पारिएको साउण्ड सिस्टमबाट संगीतको मज्जा लिन सक्ने बताएको छ ।
यो फेस्टले पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ । आयोजकले यो कन्सर्टमा ८ देखि १० हजार दर्शक उपस्थित हुने विश्वास लिएको छ ।
प्रतिक्रिया