Bisal Chautari Logo

सौगात र गीताञ्जली स्टारर ‘जार’मा समावेश पहिलो गीत सार्वजनिक

- १८ फाल्गुन २०८१, आईतवार १८:२८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन १८ आइतवार।
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी बैशाख २६ (मे ९) लाई प्रदर्शन मिति तय गरेको निर्माण कम्पनि फेरी टेल पिक्चर्सले आइतबार ‘ए ठुली’ बोलको गीत रिलिज गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा फिचर्ड छन् । गीतमा समावेश संगीत, शब्द र दृश्यले सयौँ वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्छन् । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई चलचित्रले बोल्नेछ । तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति गीतमा चित्रण गरिएको छ ।

गीतमा झुमा लिम्बु र पवन गिरीको स्वर समावेश हुँदा हर्क साउदको शब्दमा संगीत एरेञ्जको काम गंगा थापाले गरेका छन् । मिक्सिङ र मास्टरिङ विश्व शाहीको छ ।

चलचित्र ‘जार’को शीर्ष भूमिकामा अभिनेताद्वय सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् । ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित चलचित्र टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत चलचित्र फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि  गीताञ्जलीले अभिनय गरेकी छिन् ।

फूर्वा छिरिङ लामाको निर्देशनमा तयार यो चलचित्रको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । अधिकांश कलाकार र सम्पूर्ण प्राविधिक टिम भारतबाट नै छन् । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो चलचित्रको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

यो चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिसँघ सम्झौता भऐको छ भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ ।

प्रतिक्रिया