बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन २१ बुधवार । नेपाली चलचित्रका लागि ‘आउटल’ नाम नयाँ हो । किनकी, यस्तो नाममा यसअघि चलचित्र बनेका छैनन् । यसैले, फागुन २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘आउटलः दफा २१९’ नामकै कारण पनि चर्चामा छ ।
मंगलबार आयोजित चलचित्रको पत्रकार भेटघाट कार्यक्रममा यसका मुख्य नायक सुशील श्रेष्ठले यही कुरा उठाए । उनले भने–‘आउटल नेपाली चलचित्र क्षेत्रका लागि नयाँ नाम हो । जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ । त्यसपछि एक जनाको व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ । यो चलचित्र हामीले मनोरञ्जनका लागि मात्र बनाएका होइनौं । यो चलचित्रबाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौं । यो चलचित्र रिलिज भएपछि दर्शकको मनमा एक प्रकारको छाप बस्छ भन्ने लागेको छ ।’
के सुशीलले यो चलचित्रमा निर्वाह गरेको भूमिका नकारात्मक हो ? नायक भन्छन्–‘कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन । उसलाई परिस्थिती र समयले नेगेटिभ बनाउने हो । यो चलचित्रमा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ । उसलाई परिस्थितीले कानुन भन्दा बाहिर जाने अवस्था बनाउँछ । यसको कथा यही सारमा छ ।’
यो चलचित्रमा नायक श्रेष्ठले भिन्न शैलीको एक्सन गरेका छन् । तर, एक्सन गर्न सहज नभएको उनको भनाई छ । सुशील भन्छन्–‘एक्सन गर्न निकै नै गाह्रो रहेछ । म छायांकनको क्रममा निकै नै थकित हुन्थेँ । कट भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो । यो चलचित्रको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन ।’
चलचित्रमा सुशीलको हातमा आगो बालेर दृश्य खिचिएको छ । यो दृश्यको बारेमा सुशीलले भने–‘मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाईहरुले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिएँ । त्यो दृश्य हेर्दा जती सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ । तर, नयाँ अनुभव थियो रमाइलो भयो । दर्शकहरुलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ जस्तो लाग्छ ।’
विशेषगरि एक्सन चलचित्रमा चुरोट नै पिउनुपर्ने, महिलाहरुलाई होच्याएर बोल्नुपर्ने कारण के त ? यसमा त्यस्तो दृश्य छ कि छैन, पत्रकारले सोधेको यो प्रश्नमा सुशीलले भने–‘यो चलचित्रले महिलाहरुलाई माथि उठाउने काम गरेको छ । यो चलचित्रले महिलाहरुलाई नराम्रो देखाएकै छैन । महिलाहरुमा कति शक्ति छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर देखाइएको छ ।’
सुशील चलचित्र ‘आउटलः दफा २१९’को ट्रेलरले दर्शकबाट पाएको पोजिटिभ प्रतिक्रियाले उत्साहित छन् । साथमा, मिडियामा हिजोआज आफ्नो बिषयमा आउने हेडलाइन्स फेरिएकोमा पनि उनी दंग छन् । उनले भने–‘पहिले पहिले मेरो चलचित्र रिलिज हुने बेलामा फ्लप सुशील अब हिट होलान् त ? यो चलचित्रमा चल्ला त सुशीलको स्टारडम ? जस्ता हेडलाइन्स आउथेँ । तर, अहिले फेरिएको छ । म यहाँ नै सफल भइसकेको छु जस्तो लागेको छ ।’
विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिको लगानी रहेको यो चलचित्र फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । चलचित्रको मेकिङलाई लिएर अहिले चर्चा निकै छ । सुशील यो चलचित्रबाट बलियो कमब्याक गर्नेमा ढुक्क छन् ।
प्रतिक्रिया