बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन २४ शनिवार । आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘राजागंज’की मुख्य अभिनेत्री आशा मगरातीलाई स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यो खबर आयोजक संस्थाले सार्वजनिक गरेको हो ।
फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले आफ्नो वेबसाइटमार्फत अभिनेत्री मगरातीलाई जुरी सदस्यमा मनोनित गरेको जानकारी दिएको छ । ‘राजागंज’ प्रदर्शन अगावै अभिनेत्री मगरातीलाई ठुलो उपलब्धि प्राप्त भएको हो । यो महोत्सवमा सन् २०१७ मा उनको अभिनय रहेको ‘सेतो सूर्य’ले ४ अवार्ड जितेको थियो ।
यो महोत्सवको ३९ औं संस्करणको कथानक प्रतिस्पर्धातर्फ नेपालबाट अभिनेत्री मगरातीसहित बेलायती छायांकार डेरेक हडसन र स्वीस अभिनेत्री तथा पियानोवादक अन्ना पिएरी जुरचर पनि जुरी सदस्यमा मनोनित भएका छन् । यसवर्षको फ्रिबर्ग महोत्सवमा अभिनेत्री आशा मगरातीको शीर्ष भूमिका रहेको ‘राजागंज’ पनि प्रिमियर हुँदैछ ।
यसवर्षको फिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव मार्चको २१ देखि ३० सम्म स्विटजरल्याण्डमा आयोजना हुँदैछ । चैत १ गते नेपालमा चलचित्र रिलिज भएपछि आशा महोत्सवका लागि स्विट्जल्याण्ड उड्ने छिन् । यतिबेला उनी ‘राजागंज’को प्रचारमा व्यस्त छिन् ।
चलचित्रमा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
चलचित्रले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।
चलचित्रको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् । यो चलचित्रलाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।
प्रतिक्रिया