Bisal Chautari Logo

युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’

- २८ फाल्गुन २०८१, बुधबार १९:४८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन २८ बुधवार
 ।
अगामी चैत्र २२ गते रिलिज हुने यसवर्षको प्रतिक्षित मध्येको एक चलचित्र ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लेको छ । चलचित्रको १० दिन अगाडी सार्वजनिक यो गीत युट्युब ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको शिर्ष स्थानमा उक्लेको हो ।

यो समाचार तयार पार्दासम्म गीतलाई १२ लाख २७ हजार भ्युजसहित ४२ हजार लाईक तथा १ हजार ८ सय बढि प्रतिक्रिया मिलेको छ । गीतलाई फरक तथा बागलुङ आसपासका जिल्लाको मौलिकपन देखाइएको भन्दै प्रशंसाको ओइरो लागेको कमेन्टबक्समा देख्न सकिन्छ । अधिकांश दर्शकले गीतको प्रशंसामा शब्द खर्चिएका छन् ।

गीतको कमेन्टबक्समा गोविन्द पौडेल नामक दर्शकले लेखेका छन्, ‘गितको नाम बिना स्वादैको तर, गित र भिडियो यति स्वादको छ नी अहिले सम्मकै उत्कृष्ट श्रीङ्गार ड्रेस पुरानो साझ्री बस्ने रिती म सानोमा बिरामी हुदा यसरी झाँक्री बसेर रातो भाले र कालो बाख्रो खुब काटेको, प्रकाश जी, बब्लु जी, सुनिल जीलगायत सम्पुर्ण टिमलाई बधाई छ । सिनेमाको लागी शुभकामना ।’

गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् । चलचित्रमा प्रभात र श्रीशिभान्सीसहित प्रकास सपुत, स्वस्तिमा खड्का, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले चलचित्रलाई वितरण गर्नेछन् ।

प्रतिक्रिया