Bisal Chautari Logo

‘होस्टेल ३’लाई दुई नयाँ चलचित्रको बराबरी शो, बिहीबार मध्यपूर्वका देशहरूमा रिलिज

- २९ फाल्गुन २०८१, बिहीबार १९:३५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन २९ बिहिवार ।
 गत शुक्रवार देखि प्रदर्शनमा आई भरिभराउ दर्शकका साथ नेपालका हलहरूमा चलिरहेको नेपाली चलचित्र ‘होस्टेल ३’ले दोस्रो हप्ताको सङ्घारमा पनि व्यापक शो प्राप्त गरेको छ । फागु पूर्णिमाको अवसर पार्दै रिलिज भएका दुई नयाँ नेपाली चलचित्रहरू ‘अञ्जिला’ र ‘आउटल: दफा २१९’सँग बराबरी शो प्राप्त गरेको छ ।

बुधवार साँझ सम्म हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको ‘होस्टेल ३’लाई अत्यधिक रुचाइएको छ । कलाकारहरूसहित निरन्तर हलमा दर्शक भेट्न पुगिरहेका यसका निर्देशक सशान कँडेलका अनुसार तीन पटकसम्म चलचित्र हेर्न आएका दर्शकहरू भेटिएका छन् । उनका अनुसार ‘वर्ड अफ माउथ’ सकारात्मक भएका कारण चलचित्रलाई यो सफलता प्राप्त भएको हो । हल पुगेका दर्शकहरूले कलाकारहरूलाई बोकेर नचाइरहेका छन् । अपेक्षा गरिएको भन्दा निकै राम्रो रहेको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दर्शकबाट प्राप्त छ । 

‘नन होलिडे’ रिलिजमा समेत दर्शकहरू हलमा उर्लिएका छन् । युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गरेको छ । डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

निर्देशक कँडेलले आफ्नो पहिलो निर्देशनमा नै दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गर्दै दर्शकलाई धन्यवाद दिएका छन् । “चलचित्रले पहिलो हप्ताको अन्त्यसम्म आइपुग्दा अपेक्षाभन्दा निकै नै माथिको व्यापार गरेको छ । मैले सबैभन्दा ठुलो उपलब्धि दर्शकहरूको माया र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छु,” कँडेलले बताए ।

यसै गरी, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ । व्यापक शोसहित प्रदर्शनमा आएको यो चलचित्र रिलिजको लागि यसका कलाकार पदम तामाङ कतार पुगेका छन् । मध्यपूर्वका वितरक आशिष पुरुषका अनुसार त्यहाँ यसको व्यापक माग भएको छ ।

माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसी एक्सन निर्देशक हुन्। अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले सङ्गीत दिएका छन् । यम ओलीले प्रोडक्शन डिजाइन गरेका छन् भने प्रवीण सिंह र रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका छन् । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।

प्रतिक्रिया