Bisal Chautari Logo

प्रिमियर शोमा क्राइम थ्रिलर चलचित्र ‘११:५५’ लाई उत्साहजनक प्रतिक्रिया

- ६ चैत्र २०८१, बिहीबार २१:२० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
२०८१ चैत्र ७ बिहिवार
चैत्र ८ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को बुधबार रेडकार्पेट प्रिमियर शो आयोजना गरिएको थियो । कमलपोखरीमा अवस्थित बिग मुभिज सिटीसेन्टरमा आयोजित प्रिमियर शोमा चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

यो चलचित्र हेर्न पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) र गत फागुन २३ गतेबाट प्रदर्शनरत चलचित्र होस्टेल ३ निर्माण टिम चलचित्र हेर्न हल पुगेको थियो । चलचित्र हेरेर हलबाट निस्कँखै गर्दा क्राइम थ्रिलर जनरामा उत्कृष्ट चलचित्र निर्माण भएको प्रतिक्रिया दिएका थिए ।

अभिनेत्री मलिना जोशीले नेपालमा क्राइम थ्रिलर जनारामा निर्माण भएको उत्कृष्ट चलचित्र ‘११:५५’ रहेको बताइन् । चलचित्रमा अभिनय गरेका सर्व कलाकारले उत्कृष्ट काम गर्नु भएको छ । अझ विशेष त अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय र पात्रले मन जितेको बताइन् । डेव्यु निर्देशक केशव खड्काले सस्पेन्स क्राइम थ्रिलर जनराका चलचित्र रुचाउने दर्शकका लागि उत्कृष्ठ चलचित्र पस्केको उनको भनाई छ ।

निर्देशन केशव पाण्डेले पनि एउटा घर भित्र गजवले चलचित्र सक्काएको भन्दै डेव्यु निर्देशक पाण्डेको तारिफ गरेका थिए । नेपालमा थोरै मात्रै सस्पेन्स क्राइम थ्रिलर जनरामा चलचित्र बन्ने भएकाले पनि यस्ता चलचित्रलाई प्रोत्साहन गर्नु पर्ने बताए । निर्देशक तथा दीपक आचार्य (काकु)ले चलचित्र उत्कृष्ट बनेको भन्दै पछिल्लो समय दर्शकको नजरमा परेका मुख्य अभिनेता महेश त्रिपाठीको कामले मन जिेतको बताए । साथै, चलचित्रमा अभिनय गर्नुभएका अन्य कलाकार र निर्देशकको समेत तारिफ गरेका थिए ।

चलचित्रका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनालले पनि प्रिमियर शोमा मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित बनाएको बताएका छन् । आज आयोजित प्रिमियर शोमा जसरी उपस्थित पाहुनाहरुले रुचाउनु भएको छ । त्यसरी नै हलमा दर्शकले पनि चलचित्र मन पराउनेमा आशावादी देखिए ।

चलचित्रका डेव्यु निर्देशक केशव खड्काले पनि आफ्नो लामो समयदेखिको मेहनत र सपना साकार भएको बताए । ‘मैले जुज सपना देखेर यो चलचित्र निर्माण गरेका थिए । त्यो पाउँदा निकै खुशी लागेको बताए । मेरो कथालाई मैले छानेका कलाकारहरुले जिवन्त अभिनय गरेर न्याय गरिदिनु भएकोमा आभारी छु,’ निर्देशक पाण्डेले भने ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । चलचित्रमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले चलचित्रमा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रमा सागरसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् । चलचित्रलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

प्रतिक्रिया