Bisal Chautari Logo

हसनको मुख्य भूमिका रहेको चलचित्र ‘वन अफ द मिलियन्स’को छायांकन सम्पन्न

- १४ चैत्र २०८१, शुक्रबार २०:४७ मा प्रकाशित



बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ चैत्र १५ शुक्रवार।
चलचित्र ‘अलबिदा’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नायक हसनराजा खान अभिनित चलचित्र ‘वन अफ दि मिलियन्स’को छायांकन अमेरिकामा सकिएको छ ।
११ दिन लगाएर चलचित्रको छायांकन गरिएको नायक खानले जानकारी दिएका छन् । यो चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथालाई यो चलचित्रले भन्छ ।

अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा यो चलचित्र बनेको निर्माणपक्षले बताएको छ । यो चलचित्रमा हसनको साथमा कलाकार सुवास थापाको पनि मुख्य भूमिका छ । रामेश्वर कार्कीले खिचेको चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।
यो चलचित्रमा हसन र सुवासको साथमा अन्य २० जना अमेरिकामा नै रहेका कलाकारहरुले अभिनय गरेका छन् ।

सन् २००९ मा काठमाडौंमा आयोजित ‘मिस्टर क्यापिटल’ जितेका हसनले ‘अलबिदा’पछि ‘रोमियो’ नामक चलचित्रमा अभिनय गरेका थिए । यो चलचित्रबाट पनि आफूलाई दर्शकहरुले अझै बढी साथ दिने हसनको विश्वास छ ।
हसनले सन् २०१५ मा कतारको राजधानी दोहामा आयोजित ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट नव–नायकको अवार्ड जितेका थिए भने उनी न्यूयोर्कमा आयोजित ‘ग्लोबल चलचित्र अवार्ड’मा पनि सहभागी हुँदै चलचित्र ‘डिपार्चर’ निर्माणको घोषणा गरेका थिए । चलचित्र ‘वन अफ दि विलियन्स’लाई विभिन्न अन्तरराष्ट्रिय महोत्सवमा रिलिज गरिने र त्यसपछि नेपालमा रिलिज गरिने बताइएको छ । 

प्रतिक्रिया