Bisal Chautari Logo

जेठ ९ बाट चलचित्र ‘नरसिंहाः अवतार’ रिलिजमा आउने

- १७ चैत्र २०८१, सोमबार १८:३८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ चैत्र १८ सोमवार।
अन्ततः नायक राजेश हमालको प्रतिक्षित चलचित्र ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय भएको छ । यसअघि चैत्रको २९ गते आउँछ भनिएको यो चलचित्र अब आउँदो वर्षको जेठ ९ गतेबाट रिलिजमा आउने पक्का भएको छ । आज काठमाडौंको ग्लोबल कलेजमा भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्रको फस्टलुक सार्वजनिक गरिएको हो ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्दैछन् । यसकारण, पनि यो चलचित्र विशेष र प्रतिक्षित छ ।
संभवत नेपाली चलचित्रको इतिहासमा नै सबैभन्दा लामो पोस्टर कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायक हमालले आफूले ३ सय बढी चलचित्रमा काम गरेको तर यति ठूलो पोस्टर हालसम्म नदेखेको बताए । यो चलचित्रमा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकाररुको अभिनय छ ।
राजु विक्रम थापाले खिचेको चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् ।
चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो चलचित्रका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।
कार्यक्रममा विद्यार्थीहरुमाझ नायक राजेश हमालसँग सम्बन्धित १० प्रश्न गरिएको थियो । सही जवाफ दिने विद्यार्थीलाई चलचित्रका कलाकारहरुले उपहार प्रदान गरे ।
यो चलचित्र हेर्न आफूहरु निक्कै उत्साहित भएको ग्लोबल कलेजका विद्यार्थीहरुले बताए । चलचित्र ‘नरसिंहाः अवतार’लाई प्रेम, सस्पेन्स र एक्सनको मिश्रण भनिएको छ । 

प्रतिक्रिया