बिशाल चौतारी समाचार
काठमाडौं,२०८१ चैत्र १९ मंगलवार। लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा परेको छ ।
सोमवार सुशान्त केसीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘पागल’ बोलको गीत युट्युबको म्युजिक सेक्सन अर्न्तगत ७ नम्बर ट्रेन्डिङ कब्जा गरेको छ ।
प्रेमिल गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । सिनेमाको गीत सार्वजनिक भएसँगै ‘कर्मा’को हाइप पनि बढेको छ ।
सार्वजनिक गीतलाई युट्युबमा दर्शकले राम्रो साथ दिएका छन् । जसको उदाहरण, २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङ कब्जा गर्नु । हालसम्म यो गीतलाई करिब ३ लाख १५ हजार दर्शकले हेरिसकेका छन् ।
चलचित्रका लागि पहिलो पटक गीत गाए गायक केसीले अहिलेको युवापुस्ताले रुचाउने खालको गीत तयार पारेका छन् । फेसबुक सर्ट तथा रिल्समा राखेको छोटो किल्प नै दर्शकले औधी मन पराएका छन् ।
गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ । जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा चलचित्रको निर्माणपक्ष ढुक्क छ ।
शुसान्तले सिनेमाको पहिलो गीत, नयाँ अनुभव चैतमा छिट्टै हलमा भन्दै सामाजिक सञ्जालमा यसअघि नै लेखेका थिए ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । विपीन कार्की र उपासना सिंह ठकुरीले भिडियोमा अभिनय गरेका छन् । एकअर्काप्रतिको गरेको माया गीत र भिडयोमा देख्न सकिन्छ ।
विपीनले उपासनालाई देख्नबित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । एकले अर्काको आँखामा देखेको प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन् ।
सिनेमाको फुटेज भिडियोमा प्रयोग गरिएको छ । सिनेमाका कलाकारको जति नै सुशान्त पनि भिडियोमा फिचर्ड छन् ।
नेपाल र विदेशमा एकसाथ रिलिज हुने चलचित्र ‘कर्मा’ नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गते रिलिज हुँदै छ ।
चलचित्र ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।
चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ ।
निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।
प्रतिक्रिया