बिशाल चौतारी समाचार
काठमाडौं,२०८१ चैत्र १९ मंगलवार। एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे, अनि जीवनका अविस्मरणीय क्षणहरू अक्षरहरूमा कैद गरिन्थ्यो । प्रेमी-प्रेमिकाले सँगै बिताएका पलहरू, साझा सपना र गहिरा भावना डायरीका हरफहरूमा जिउँदै थिए । तर डिजिटल युगको उदयसँगै त्यो परम्परा धमिलो बन्दै गयो, स्मृतिहरू अब स्क्रिनमा कैद हुन्छन्, तर तिनको आत्मीयता कत्तिको बाँकी छ भन्ने प्रश्न उठ्न थाल्यो ।
यही भुलिँदै गएको समयलाई मङ्गलवार रिलिज गरिएको ‘ऊनको स्वीटर’ टिजरले पुनः जीवित गरिदिएको छ, जहाँ डायरीका पानाहरू पल्टाउँदा निस्कने पुरानो यादको सुवास अझै पनि ताजा महसुस गर्न सकिन्छ । लामो समयदेखि प्रतीक्षामा रहेको यस चलचित्रको टिजरमा प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिहरूको यात्रा प्रस्तुत गरिएको छ ।
चलचित्रमा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन् । साथै, विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको पनि प्रमुख अभिनय रहेको छ । यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतार-चढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ । विपिन र मिरूनाको अभिनयमार्फत प्रेम र स्मृतिका गहिराइहरू बुन्न खोजिएको छ, भने एलेक्स र परीक्षाले प्रेममा आउने नोकझोक र भावनात्मक टकराबलाई जीवन्त बनाएका छन् । अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।
टिजरमा मिरूनाले दिएको डायरीमा विपिन आफ्ना भावना लेख्दै गरेको दृश्य प्रस्तुत गरिएको छ । विपिनले साङ्केतिक रूपमा प्रेमका कुरा व्यक्त गरेका छन् भने, मिरूनाले प्रेम रहे पनि त्यसमा जटिलता रहेको सङ्केत गरेकी छन् ।
‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । सुजन चापागाईँको सङ्गीत रहेको चलचित्रलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ । चलचित्रमा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको पनि अभिनय रहेको छ ।
प्रतिक्रिया