Bisal Chautari Logo

‘अञ्जिला’ले पाँचौँ हप्तामा पनि देखायो स्थायित्व, घटेन व्यापारको रफ्तार

- २९ चैत्र २०८१, शनिबार १९:३५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ चैत्र ३० शनिवार।
नेपाली चलचित्र ‘अञ्जिला’ले रिलिजको पाँचौँ हप्ताको शनिवार समेत उत्साहजनक व्यापार कायम राख्न सफल भएको छ । काठमाडौंसहित देशभरका हलहरूमा झन्डै ५० शो प्रदर्शन भइरहेका छन्, र अधिकांश शोहरूमा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।

फागुन २९ यता नेपाली र विदेशी गरी दर्जनभन्दा बढी चलचित्रहरू प्रदर्शनमा आए पनि ‘अञ्जिला’को व्यापारमा कुनै उल्लेख्य असर परेको छैन । बलियो कथा, सशक्त निर्देशन र कलाकारहरूको प्रभावशाली अभिनयका कारण यो फिल्म दर्शकको रोजाइमा अडिन सफल भएको हो । ‘अञ्जिला’ नेपाली बक्स अफिसमा सबैभन्दा स्थायित्व देखाउने चलचित्रमध्ये एक बन्दै गएको छ ।

गत वर्षको अन्त्यतिर प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’ले उत्कृष्ट पाँच चलचित्रको सूचीमा स्थान बनाएको छ । अहिले पनि चलचित्रको व्यापारमा खासै गिरावट देखिएको छैन, जसले यो चलचित्रलाई लामो समयसम्म प्रदर्शनमा टिक्ने सङ्केत दिएको छ ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । निर्देशक मिलन चाम्सले चलचित्रकी पात्र एन्जिला तुम्बापो सुब्बाले भोगेको जीवन कतै न कतै हामी सबैको जीवनसँग मेल खाने भएका कारण दर्शकसँग त्यसको भावनात्मक सम्बन्ध कायम रहेको आफुले बुझेको बताए । “हाम्रो मेहनतलाई दर्शकले जसरी माया दिनु भएको छ, त्यसले निकै ऊर्जा मिलेको छ । एन्जिलाले भोगेको कथाले दर्शकलाई भावनात्मक सम्बन्ध जोड्न सघायो । अझै केही हप्ता प्रदर्शनलाई निरन्तरता दिने तयारीमा छौँ,” चाम्सले भने ।

चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया