बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ बैशाख, १ सोमवार। नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि चर्चामा रहेका नायक पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्मको घोषणा गरिएको छ ।
पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘यानीमाया’ राखिएको छ । यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
फ्यामिली ड्रामा कथामा आधारित रहेर यो फिल्म बन्नेछ । फिल्मको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् ।
विकासले लेखेका तीन फिल्म पनि सामाजिक कथावस्तुमै तयार भएका थिए । उनले, आफ्नै स्टाइलको फिल्म बनाउन लागेको जानकारी दिए ।
नायक पल शाहले पनि पल शाह फिल्मस्लाई दर्शकहरुले निकै माया दिएको भन्दै अब आफू फिल्म निर्माणमा अगाडि बढेको बताए । उनले, फिल्म निर्माणमा पनि दर्शकहरुबाट अपार माया र साथ पाउने विश्वास व्यक्त गरेका छन् । फिल्मको छायांकन असारबाट सुरु गरिने जानकारी निर्माणपक्षले दिएको छ । फिल्ममा कलाकारहरु फाइनल गर्न बाँकी रहेको निर्देशक सुवेदीले बताए ।
प्रतिक्रिया