बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ बैशाख १३ शनिवार। चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । ‘जार’ विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षले जनाएको छ ।
‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको चलचित्र हो । यो विषय अहिले पनि यदाकदा अस्तित्वमा छ । तर, अहिले ‘जार’ प्रथा धेरै प्रचलनमा छैन ।
सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्र हुनेछ, ‘जार’ । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र हो ।
इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । त्यसैले सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यो २२५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाको भनाइ छ ।
यो चलचित्रले हाम्रो इतिहाससँगको साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा देखाउने लामाले बताए । “मैले सानैदेखि सुन्दै आएको यो कथाले सधैं झक्झकाइ रहन्थ्यो । नेपाली समाजमा जस्तै नेपाली भाषी समुदायमा जहाँसुकै गए पनि एउटै भावना पाइन्छ,” निर्देशक लामाले भने । “‘जार’ले हाम्रो समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई समेत उजागर गर्छ ।”
‘जार’ले इतिहास, संस्कृति र समाजलाई गहिरो रुपमा स्पर्श गर्ने भएकाले युवा पुस्तामाझ समेत प्रभाव पार्ने विश्वास निर्देशक लामाको छ । उनी भन्छन्, ‘हालका पुस्तामा यो विषय केही ओझेलमा परे पनि, त्यसबेलाको समाजमा यसको ठूलो प्रभाव थियो । चलचित्र ‘जार’ केवल इतिहास सुनाउने माध्यम मात्र होइन, हाम्रो संस्कृतिको अदृश्य धागो भेटाउने प्रयास पनि हो ।’
चलचित्र ‘जार’ले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ । कथाका पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत दर्शकले त्यसबेला प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता देख्न सक्नेछन् । चलचित्रमा देखाइने ‘मितेरी साइनो’ जस्ता सामाजिक परम्पराहरु अहिलेका नयाँ पुस्ताले थोरै मात्रै बुझेका छन् । ‘जार’ले आजका दर्शकलाई पुरानो समाज र आजबीचको गहिरो सम्बन्ध बुझ्न मद्दत पुर्याउनेछ ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ । त्यसैले ‘जारी’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।
चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।
चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।
चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ ।
प्रतिक्रिया