sani nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र २ सोमबार । परिवारका कारण बेचिएकी एक युवतीको कथा प्रस्तुत गरिएको चलचित्र ‘सानी’को राजधानीमा आइतबार प्रिमियर शो गरिएको छ । कार्नेट नेपालको प्रस्तुतिमा प्रोमिस प्रोडक्सन फिल्मको व्यानरमा निर्मित फिल्मको प्रिमियर शोको उद्घाटन सूचना तथा सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले गरे ।
शोको उद्घाटन गर्दै महिला बेचविखन जस्तो अत्यन्त घृणित कामका विरुद्ध जनचेतना जगाउन उद्देश्यले संस्थाले गरेको कामको प्रशंसा गर्दै बेचविखन विरुद्ध आम नेपालीहरु एक जुट हुनुपर्नेमा जोड दिए । चलचित्र हेर्नका लागि सभासद, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालगायतको उपस्थिति रहेको थियो ।
चलचित्रका लेखक तथा निर्देशक सुनिल पाण्डेका अनुसार सिनेमाले रोजगारीका नाममा गाउाबाट आफन्तले बालिका तथा महिलाहरुलाई शहरमा ल्याएर गार्मेन्ट फ्याक्ट्रीमा काम लगाउने तथा अन्य यौनजन्य क्रियाकलापमा संलग्न गराउने क्रियाकलापलाई प्रस्तुत गरेको छ । ‘यो हाम्रो पहिलो शो हो, यसलाई अहिले व्यावसायिक रुपमा लैजाने सोच बनाएका छैनौं,’निर्देशक पाण्डेले भने,‘अहिले च्यारिटी शो जस्तै गरेर फिल्म प्रदर्शन गर्नेछौं ।’ उनका अनुसार फिल्म सत्यघटनामा आधारित रहेको छ ।
बेनी कार्कीले निर्माण गरेको चलचित्रमा दिलिप गौतम, कञ्चननाथ योगी, सुशिल पोखरेल र सपन श्रेष्ठलगायतले अभिनय गरेका छन् । चलचित्रमा न्यु बज्राचार्यको संगीत, कविराज गहतराजको नृत्य, श्रीकृष्ण विशुंकेको सम्पादन रहेको छ । विगत ९ वर्षदेखि बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको संस्थाले चलचित्रबाट उठेको सम्पूर्ण रकम सामाजिक काममा नै खर्चने जनाएको छ ।
प्रतिक्रिया