khotang khanidada airport
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, कात्तिक २ आइतबार । वर्षाका कारण अवरुद्ध भएको पाच महिनापछि खोटाङको खानीडाँडा विमानस्थलमा उडान सुचारु भएको छ । गत असार–१५ गतेदेखि अवरुद्ध भएको मनमायाँ राई खानीडाँडा विमानस्थलमा शनिबारदेखि नियमित उडान सुरु भएको हो ।
वर्षाको भलबाढीले बनाएको खाल्डाखुल्डी पुर्नुका साथै मौषममा सुधार आएपछि नेपाल वायुसेवा निगमले नियमित उडान भर्न थालेको स्टेशन ईन्चार्ज यादवसेन राईले जानकारी दिनुभयो । राईका अनुसार हरेक हप्ताको मंगलबार र शनिबार काठमाठौं–खानीडाँडा–काठमाढौं र मंगलबार बिराटनगर–खानीडाँडा–बिराटनगरका लागि उडान हुनेछ ।
सदरमुकाम दिक्तेलदेखि सबैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थलमा उडान सुरु भएपछि जिल्ला अस्पताल खोटाङबाट रेफर हुने बिरामीहरुका लागि सहज भएको छ । यसअघि अस्पतालले रेफर गरेका बिरामीलाई चर्को मुल्यमा हेलीकोप्टर चार्टर गरेर अन्यत्र लानुपर्ने बाध्यता थियो ।
कालोपत्रेको काम समेत हुँदै गरेको उक्त विमानस्थलमा कामलाई अवरोध नपुग्नेगरी उडान भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाबासीको समस्यालाई मध्यनजर गर्दै हप्ताको तीन पटक उडान राखिएको छ ।’ जिल्लामा लामीडाँडा, थामखर्क र खानीडाँडा विमानस्थल सञ्चालनमा छन् । यी मध्ये सबैभन्दा नजिक खानीडाँडा विमानस्थल रहेको छ । स्रोत : हाम्रो खोटाङ
प्रतिक्रिया