EXCLUSIVE NEWS
१० असोज, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थलमा कालोपत्रेको काम बल्ल शुरु भएको छ । हिलाम्मे र धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको विमानस्थल नेपाल नागरिक उड्यन प्राधिकरणको ६ करोड ८० लाखको लगानीमा कालोपत्रेको काम शुरु भएको हो ।
शेर्पा पिल्लर कन्ट्रक्सन प्रालिले जिम्मा लिएको कालोपत्रेको काम आगामी चैत मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेका अनुसार उक्त विमानस्थलमा हाल गिटी फुटाउने, गाह्रो लगाउने, भित्ता खार्ने र बालुवा आसार्ने काम भइरहेको छ । जिल्लाका तीन विमानस्थलहरुमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल कालोपत्रेपछि प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । खोटाङबासीको आफ्नै पहलमा निर्माण गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाईन्स, अग्नी र तारा एयरलाईन्सले उडान भर्दै आएको थियो । कच्ची अवस्थामा रहेको उक्त विमानस्थलमा वर्षामा पसेको भलबाढीले धावनमार्ग अवरुद्ध बनाएपछि गत असार–१५ गतेदेखि उडान बन्द भएको छ । बन्द रहेको उक्त विमानस्थलमा कालोपत्रेको कामसँगै केही दिनमा नै उडान शुरु गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।
जिल्ला अस्पतालबाट रेफर गरिएका विरामीहरु बढी मारमा परेकाले कालोपत्रेका कामसँगै उडान पनि शुचारु गरिने अध्यक्ष घिमिरेको भनाइ छ । उनका अनुसार अस्पतालबाट रेफर गरिएका विरामीका लागि चर्को मुल्य तिरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेकाले उडान शुचारु गर्ने तयारी गरिएको हो । जिल्लाका लामीडाँडा र थामखर्क विमानस्थल सदरमुकाम दिक्तेलदेखि टाढा भएपछि सबैको पायक पर्ने खानीडाँडा विमानस्थलमा कालोपत्रेको काम थालिएको जनाइएको छ । विशेषगरि जिल्ला अस्पतालबाट रेफर गरिएका बिरामीलाई मध्यनजर गर्दै उक्त विमानस्थलमा कालोपत्रेका काम थालिएको हो । खोटाङ भौगोलिक बिकटता भएको जिल्ला भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै कोलोपत्रेको कामलाई अवरोध नपुग्नेगरि उडानलाई निरन्तरता दिन निर्माण उपभोक्ता समितिलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दिनपकराज नेपालले बताए । उनले भने, ‘ठूलो मात्रामा हेलिकोपटर चार्टर गर्नुपर्ने बाध्यता भएकाले धावन मार्ग बाहेकका ठाउँमा काम हुँदै गर्दा उडान भर्ने वातावरण मिलाउन भनेको छु ।’ स्रोता : हाम्रो खोटाङ
प्रतिक्रिया