अनिल शाही२९ भदौ, बाजुरा । जिल्ला अस्पताल बाजुराका पियन हिक्मतबहादुर रावलले विगत १ वर्षदेखि एक्सरे मेसिन चलाउँछन् र एक्सरे पनि निकाल्दै आएका छन् । उनले एक्सरे मेसिन लिने र निकाल्ने काम गर्दै आएका छन् । उक्त अस्पतालमा रेडियो ग्राफ पदमा रहेका सोवित अर्यालको गएको वर्ष जिल्लाबाट सरुवा भएदेखि हालसम्म त्यहाँ अरु कुनै रेडियो ग्राफर आएका छैनन् । पियन रावलले नै उक्त कामकको जिम्मा लिँदै आएका छन् । अस्पतालमा दैनिक दशदेखि १५ जना एक्सरे जाँचका लागि बिरामी आउने गरेका छन् । उनले बिरामीको एक्सरे लिनुकका साथै निकाल्ने पनि गरेको रावलले बताए ।
‘अस्पतालमा एक्सरे प्राविधिकको दरबन्दी रिक्त भएपछि उक्त जिम्मेवारी पियन रावललाई दिइएको हो ।’ डाक्टर जयप्रकाश झाले भने, ‘अस्पतालमा आउने बिरामीको एक्सरे रावलले निकाल्दै आउनुभएको छ । उहाँले एक्सरे मेसिन चलाउन थालेको दुई वर्ष भयो, अहिले पोख्त भइसक्नुभएको छ ।’ पियन रावलले एक्सरे मेसिन अनुभवका आधारमा चलाउने गरेका छन् । एक्सरेका लागि अन्यकर्मचारीभन्दा पियन रावलले राम्रो चलाइरहेको डाक्टर झाको दाबी छ । सदरमुकाम मार्तडी निवासी रावलले दश पाससम्मको अध्ययन गरेका छन् । एक वर्षदेखि जिल्ला अस्पतालमा एक्सरे प्राविधिकको दरबन्दी रिक्त हुँदा आफूले नै उक्त जिम्मेवारी वहन गर्दै आएको उनले बताए । रावलले दैनिकजसो १० दखि १५ जना बिरामीको एक्सरे निकाल्ने गरेका छन् ।
उनले आफ्नो कामको उचित मूल्यांकन होस् भनेर रिक्त रहेको एक्सरे प्राविधिकको पदमा आफूलाई नियुक्त गरियोस् भन्ने अपेक्षा राखेका छन् । यसका लागि अस्पताललाई पहल गरिदिन आग्रहसमेत गरेका छन् । अस्पतालले भने सो पदमा नियुक्ति गर्न नमिल्ने बताएको छ । यता सरकार बाजुरेली जनताको स्वास्थ्यमा खेलाड गरिरहेको स्थानीय वकिल शाहीले आरोप लगाए । मासिक ३५ सय तलबमा पियनको जागिरमा दरबन्दी पाएका रावलले बिना पारिश्रमिक रेडियो ग्राफरको पनि काम गर्ने गरेका छन् । यति तलबले उनको दैनिक गुजारासमेत कष्टकर हुने गरेको बताउँछन् । यति थोरै तलबमा दुवै काम गर्नुपर्छ, आफू एकछिन् कार्यालयमा नआए एक्सरे गरिदिने कोही पनि छैन उनले गुनासो गरे । बाजुरा अस्पतालमा प्राय : काही कर्मचारी नआउने र आए पनि अनेक बहानामा कार्यालयमा नबस्ने गरेको त्यहीँका एक कर्मचारीले बताए । एउटा हात मात्र भाँचिए सदरमुकाम मार्तडी आउनुपर्ने र आए पनि गुणस्तरीय सेवा नपाउने गरेको स्थानीय जुकोटका चरित्र शाहीको गुनासो छ । गुणस्तरीय सेवाका लाागि धनगढी नै धाउनुपर्ने बाध्यता अहिलेसम्म त्यहाँका जनतामा छ ।
साभार : सौर्य दैनिक
प्रतिक्रिया