२७ भाद्र, काठमाडौं।
सफल गीतकारबाट आख्यानकारको परिचय बनाउन तम्सिएका राजेन्द्र थापाले पहिलो कृति ‘खेलौना’बाट तालीभन्दा ज्यादा गाली पाए । खेलौना पढ्ने पाठकले उनलाई यौन मनोविज्ञानको नाममा साहित्यमा छाडापन भित्याएको आरोप लगाए । तर नारी मनका कथाव्यथा लेखनीमा उतारेको बताउने थापा आलोचकका आरोपहरुको बेवास्ता गर्दै दोस्रो औपन्यासिक कृति द्रौपदी” लिएर बजारमा आएका छन् ।
यसअघिको कृति खेलौनामा नारीले पुरुषलाई खेलौनाको रुपमा प्रयोग गर्नुपर्ने बाध्यता उतारेका लेखकले द्रौपदीमा भने स्त्री शत्तिलाई उजागर गरेको बताए । नेपाली समाजमा महिलामाथि हुने घरेलु हिंसापछिको विद्रोह उपन्यासको मुख्य विषय हो । यो उपन्यास पढ्दा हरेक महिलाले आफ्नो कथा लेखिएको पाउने गीतकार थापाले बताए । समाजमा महिलाको स्थान उकास्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने पनि थापाले दाबी गरे । भने –‘हाम्रो समाजले परापूर्वकालदेखि महिलालाई दोस्रो स्थानमा राखेर दबाउने गरेको । तर यो पुस्तकले यस्ता कुरीतिविरुद्ध चेतनाको राँको बाल्नेछ ।’ पहिलो पुस्तक एउटी नेपाली मोडलको जीवनीमाथि आधारित भएझैं द्रौपदी पनि घरेलु हिंसाविरुद्ध विद्रोह गरेका महिलाको अनुभवमा आधारित छ । थापाले पुस्तकमा रहेका दुई चरित्रहरु ६ वर्षको उमेरदेखि घरेलु हिंसाबाट पिडित रहेका महिलालाई आधार मानेर तयार गरेको जानकारी गराए । द्रौपदी महाभारतमा घरेलु हिंसाबाट पीडित नारी थिइन् । नेपालमा यस्ता द्रौपदीहरु घरघरमा आज पनि पाइन्छन् । द्रौपदी घर घरमा सताइएका त्यस्तै नारीहरुको कथा हो,” थापाले भने।
पुस्तकमा नग्नता भित्याएको आरोप लागेका थापाले ‘द्रौपदी’मा पनि यौनको रमरमी रहेको स्वीकारे । ‘बलात्कृत महिलाको कथा भएकाले पुस्तकमा द्रौपदीका चीरहरणका दृश्य पक्कै छन् तर चीरहरणको वर्णन सस्तो छैन,” थापाले भने। पुस्तकलाई डिकुरा प्रकाशनले बजारमा ल्याएको हो ।
प्रतिक्रिया