विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर २ मंगलवार । त्रिभुवन विमानस्थलमा खटिने प्रहरीहरूका लागि छुट्टै भवन निर्माण भएको छ।
विमानस्थल परिसरमै बनेको प्रहरी भवनको उद्घाटन मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका हुन्।
‘विमानस्थलमा खटिने प्रहरी पहिले अलि दयनीय अवस्थामा बस्ने गरेका थिए,’विमानस्थलका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘पहिले पनि यही परिसरमै बस्थ्यौं तर विमानस्थलमा बस्ने प्रहरीको जस्तो अवस्था थिएन।’
उक्त भवन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेका हुन्।
२०७५ सालदेखि सुरू भएको भवन निर्माणको काम केही दिन अघि सकिए पनि मंगलबार पर्यटनमन्त्री भट्टराईबाट उद्घाटन भएको प्रहरी उपरीक्षक मल्लले बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार भवन ७ करोड १५ लाख रुपैयाँमा बनेको हो।
त्यस भवनमा साढे तीन सय जना प्रहरीको आवासको व्यवस्था गरिएको छ।
मन्त्री भट्टराईले उद्घाटन गर्दै विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट नै गठन गर्नुपर्ने बताए।
उनले अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलापसँग र त्यस्ता संगठनहरूसँग नजिक भएका व्यक्तिहरू विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले त्यसको नियन्त्रण गर्न छुट्टै विशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने बताए।
आफूले सम्बन्धित मन्त्रालयमा ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठन गर्न छलफल अगाडि बढाएको बताए।
प्रतिक्रिया