विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष २ बिहिवार । काठमाडौंको एक व्यस्त स्थान चाबहिलमा बिहीबार बिहान बम भेटियो भनेर प्रहरीमा खबर पुग्यो । राजधानीमा बम भेटिएको भन्ने सूचनाले सबै प्रहरी युनिट अलर्ट भए ।
तत्काल प्रहरीको एक टोली बम रहेको भनिएको स्थानमा पुग्यो । प्रहरीले अवलोकन गरेपछि शंकास्पद वस्तु भएको भन्दै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलायो । तर, सेनाको टोलीले हेर्दा त्यो त झोला मात्रै रहेछ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले चाबहिलमा भेटिएको शंकास्पद वस्तु झोलामात्रै रहेको पत्ता लागेको बताए ।
विगतमा काठमाडौंमा नेत्रविक्रम चन्द (विप्लव) समूहले बम विष्फोट गराउँदा मानवीय क्षति भएको र हालै सो समूह फेरि सक्रिय हुन थालेको भन्दै सुरक्षा अंगहरु अलर्ट छन् ।
विप्लव समूहले हालै मोरङको मिक्लाजुङमा एक शिक्षकको हत्या गरेपछि गृह मन्त्रालय र नेपाली सेनाले पनि विप्लव समूह हिंसात्मक बनेको निष्कर्ष निकालेका छन् ।
प्रतिक्रिया