Bisal Chautari Logo

‘पशुपति प्रसाद २ : भष्मे डन’को उच्च माग, तीन हप्ता अगाडी नै खोलियो अग्रीम टिकट बुकिङ

- १२ आश्विन २०८०, शुक्रबार १८:५६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
 २०८० असोज १२ शुक्रवार।
 निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र  ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । चलचित्रलाई लिएर दर्शकमाझ उच्च हाइप बनेको छ ।

नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा समेत चलचित्रप्रति दर्शकको हाइप उच्च देखिएकाले वितरकले रिलिजभन्दा एक महिना अगाडी नै अग्रीम टिकट बुकिङ खुलाउन थालेका छन् । अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशमा चलचित्रका लागि अग्रीम टिकट बुकिङका लागि शो खोलिएका हुन् ।

नेपाली चलचित्रप्रति देखिएको यो क्रेजले नेपालमा मात्र नभएर विदेशी बजारसमेत सिनेमाले बम्पर ओपनिङ गर्ने संकेत देखिएको छ । चलचित्रको मेलबर्न प्रिमियरको तालिका समेत सार्वजनिक भैसकेको छ । मेलर्वनको चाइना टाउनमा चलचित्रको प्रिमियर अक्टोबर २३ तारिखमा हुँदैछ ।

यस्तै, चलचित्रको २५ अक्टोबर, ३० अक्टोबर र ५ नोभेम्बरका लागिसमेत अग्रीम टिकट बुकिङको लागि शो खुलिसेको छ । यता जापानका लागि पनि चलचित्रको अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा चलचित्र रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिज हुने पक्का भएको हो ।

युरोपको बेल्जियम लगायतका देशमा पनि चलचित्रले आक्रामक सुरुवात गर्ने देखिएको छ । अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा चलचित्रको शो नै सुरु हुँदैछ । अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ । ओभरसिज वितरकले चलचित्रको चाँडै अमेरिका, क्यानडा, युरोपका अन्य देश र मिडिल इष्ट लगायतका क्षेत्रमा पनि अग्रीम टिकट बुकिङ खोल्ने तयारी भैरहेको जानकारी दिएका छन् ।

प्रतिक्षित चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् ।चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

प्रतिक्रिया