Bisal Chautari Logo

चलचित्र ‘माइली’ मा गायिका कमला घिमिरे अनुबन्धित

- २४ असार २०८१, आईतवार १९:१९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
 २०८१ आषाढ २३ आइतवार
  रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ मा गायिका कमला घिमिरे अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रबाट गायिका कमलाले फिल्मी अभिनयमा ‘डेब्यू’ गर्न लागेकी हुन् ।
कमलाले आफूलाई संगीतमा झैं चलचित्रमा पनि दर्शकले माया दिने बताइन् । ‘दर्शकले मलाई चलचित्रमा पनि माया र साथ दिनुहुनेछ जसरी गीत संगीतको क्षेत्रमा दिनु भएको थियो । आज मैले चलचित्र गर्ने अबसर पाएँ, म सम्झिन चाहान्छु मेरा ति सुरुवाती दिनहरु जतिखेर मलाई दर्शक श्रोताले धेरै माया गरेर आज यो ठाउँ सम्म पुर्‍याउनुभयो’, उनले भनिन् । कमला एक समय युट्युब र सामाजिक सञ्जालमा भाइरल गायिका थिइन् ।
चलचित्र युनिटले कमलाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा कमलालाई मन्द मुस्कानमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।
निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाइनेछ’, निर्देशक बलामीले भने ।
असारको अन्तिमबाट छायांकन गरिने चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।
चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

प्रतिक्रिया