बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ भाद्र २८ शुक्रवार । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘रंगी’ मा ‘मिस वल्र्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा नम्रताको ‘डेब्यू’ अभिनय रहनेछ ।
हालै निर्माण पक्षले नम्रतालाई चलचित्रमा अनुबन्ध गरेको हो । नम्रताले चलचित्रको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् । ‘मैले रंगीको स्क्रिप्ट पढ्दा मैले स्कुल पढाउँदाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ, म युवावस्थाको छु, तर मेरो नेचर बच्चाको जस्तो छ । ऊ बच्चाको लागि एउटा आमा जस्तो भूमिका गर्नु पर्ने भएकाले पनि काम गर्न मन लाग्यो’, उनले भनिन् ।
नम्रताले यसअघि आफूलाई एक वेब सिरिजको लागि अफर आए पनि आफ्नो भूमिका चुनौतिपूर्ण र विवादास्पद लागेकाले अभिनय नगरेको खुलाइन् । ‘वेब सिरिजमो स्क्रिप्टमा मेरो क्यारेक्टर अलिक कन्ट्रोभर्सियल किसिमको थियो । म अलिक सोझी छु । तर वेब सिरिजको क्यारेक्टर ग्ल्यामर किसिमको भएकाले विवाद आउँछ भनेर मैले काम गरिनँ’ उनले भनिन् ।
‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव संगालेका सुरेश न्यौपानले यही चलचित्रमार्फत निर्देशनमा ‘डेब्यू’ गर्दैछन् ।
यसअघि निर्माण पक्षले चलचित्रको टाइटल पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । चलचित्रले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।
सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ । फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् ।
प्रतिक्रिया