Bisal Chautari Logo

देशभर ‘बेहुली फ्रम मेघौली’को आक्रामक व्यापार

- २० आश्विन २०८१, आईतवार १३:२२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
२०८१ असोज २० आइतवार 
असोज १७ गते अर्थात् गत बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको थियो । हिजो शुक्रबार पनि राम्रो व्यापार गरेको चलचित्रले शनिबार देशभरका सिनेमा घरमा आक्रामक व्यापार गरेको छ ।

दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथको फाइदा चलचित्रलाई मिलिरहेको छ । चलचित्रले शनिबार बिहानी शोबाट नै हाउसफूल व्यापारको सुरुवात गरेपछि चलचित्रको निर्माण टिम कलाकार सहित विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।

आफ्नै अगाडी चलचित्रका कलाकारहरु देख्दा चलचित्र हेर्न हलमा पुगेका विशेषगरी महिला दर्शकले चलचित्रकी मुख्य अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्कालाई आफ्नै कथा उठाएकोमा धन्यवाद दिँदै अंगालो हालेर रोएका समेत थिए । त्यो माहोललाई फकाएर सान्त पार्न अभिनेत्री स्वस्तिमालाई समेत हम्मेहम्मे परेको थियो ।

चलचित्रले दर्शकको राम्रो साथ पाएपछि चलचित्रका मुख्य अभिनेता तथा निर्माता निश्चल बस्नेतले दर्शकलाई धन्यवाद दिएका छन् । दशैंको माहोल भएकाले परिवार सहित ‘बेहुली फ्रम मेघौली’ हेरेर सेलिब्रेट गर्न आग्रह समेत गरेका थिए । अभिनेत्री स्वस्तिमा खड्काले नयाँ नामको चलचित्रलाई पनि दर्शकको उत्साहजनक साथ मिलेको भन्दै खुशी व्यक्त गरिन् ।

‘आज तेस्रो दिनमा प्रदर्शन भैरहेको छ । दर्शकको अत्यन्तै राम्रो साथ मिलेको छ । आगामी दिनमा पनि यस्तै रमाइला र सन्देश मुलक सिनेमा निर्माण र अभिनय गर्न हौसला मिलेको छ । अझै राम्रो दर्शकको साथको अपेक्षा रहेको भन्दै हेरिसक्नु भएका दर्शकलाई धन्यवाद । आजसम्म हेर्न भ्याउनु भएको छैन् भने एक पटक अवश्य हेरेर साथ सहयोग गर्न अपिल गर्दछु’, उनले भनिन् ।

चलचित्रले काठमाडौं उपत्यकामा मात्रै नभई देशभरका ठुला शहर नारायणगढ, बुटवल, नेपालगञ्ज, इटहरी, धरान, बिराटनगर, दमक, बिर्तामोड र पोखरा लगायतका ठाउँमा पनि हाउसफूल व्यापार गरेको वितरक अशोक शर्माले जानकारी दिए । हामीले पनि विभिन्न हलमा अनलाइन टिकेटिङ्ग साइट हेर्दा पनि आक्रामक रुपमा टिकट बिक्रि भैरहेको देखिन्थ्यो ।

चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

प्रतिक्रिया