Bisal Chautari Logo

‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ नेपालसहित विभिन्न देशको ट्रेन्डिङमा

- ९ माघ २०८१, बुधबार १५:३५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ माघ ९ बुधवार ।
आगामी फागुन २३ गते रिलिज हुने चलचित्र ‘होस्टेल ३’को केही दिन अघि सार्वजनिक गरिएको गीत ‘टिक टिक टिक’ले लोकप्रियता पाइरहेको छ । रिलिजको केही घण्टादेखि नै युट्युबको ट्रेन्डिङमा पुगेको यो गीतलाई युट्युब लगायतका विभिन्न सोसल मिडिया प्लेटफर्महरूमा व्यापक भ्युज तथा सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् । हाल यो गीतको युट्युब भ्यूज करिब १० लाख छ ।

हाल नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १० मा रहेको यो गीत नेपालीहरूको उल्लेख्य बसोबास रहेका देशहरू कतारमा नवौँ, युएईमा पच्चीसौँ र कुवेतमा एक्काइसौँ स्थानमा रहेको छ । यस गीतमा दसौँ हजारको सङ्ख्यामा टिकटिक र रिल्स बनेका छन् । विशेषतः गीतको मुखडा ‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ टिकटिक र रिल्समा चर्चित बनेको छ ।

यस गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरूको आकर्षक नृत्य रहेको छ, जसमा चार मुख्य अभिनेताहरू पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली फिचर्ड छन् । यसमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ । यसमा अलमोडासँगै सन्तोष राणाले र्‍याप भोकल दिएका छन् । गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ । चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।

अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन् । चलचित्रका सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन्, जसमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ । यो चलचित्र फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ । नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।

प्रतिक्रिया