बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन १२ सोमवार । बुधबारदेखि रिलिजमा आउन लागेको चलचित्र ‘मायाबी’को प्रचारप्रसारमा यसको निर्माणपक्ष आक्रामक देखिएको छ । देशका विभिन्न १२ शहरमा चलचित्रको ‘अटो रिक्सामा माइकिङ’ गर्दै प्रचार आरम्भ गरिएको कार्यकारी निर्माता करण सिंहले जानकारी दिए । उनका अनुसार, चलचित्रको प्रचार पूर्वदेखि पश्चिमका मुख्य शहरहरुमा भइरहेको छ ।
पूर्वका मुख्य शहर धरान, इटहरी, विराटनगर, दमक र विर्तामोडमा माइकिङ पब्लिसिटी सुरु गरिएको हो । चलचित्र क्षेत्रमा समेत डिजिटल प्रविधीले छोएपछि माइकिङ प्रचार हराउँदै गएको थियो । तर, दर्शकलाई चलचित्रको बारेमा प्रत्यक्ष जानकारी दिनका लागि यस्तो प्रचार शैली प्रभावकारी मानिन्छ ।
यस्तै, चितवनदेखि बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका शहरमा पनि माइकिङ प्रचार शैली अपनाइएको छ ।
यसैबिच, यो चलचित्रलाई चलचित्र जाँच पास समितीले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो चलचित्रलाई हरेक वर्गका दर्शकले हेर्न पाउनेछन् ।
बुधबार महाशिवरात्रीको अवसर पारेर रिलिजमा आउन लागेको यो चलचित्रमा दिवाकर भट्टराइको लेखन तथा निर्देशन छ । चलचित्रको ट्रेलरले दर्शकको मन जितिसकेको छ । लभ स्टोरी कथामा बनेको चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–नायक समीम खानको मुख्य भूमिका छ ।
प्रतिक्रिया