बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन १६ शुक्रवार। वर्षकै प्रतिक्षित एक्सन चलचित्र ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । चलचित्रमा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ ।
विकास चौधरी सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको चलचित्रमा चुल्ठे काजीको एक्सन निर्देशन छ ।
यो चलचित्रमा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।
चलचित्रको ट्रेलर हेर्दा यसको मेकिङ, कथावस्तु, एक्सन गज्जब देखिएको छ । नायक सुशिल श्रेष्ठलाई ‘एक्सन स्टार’मा रुपमा प्रस्तुत गरिएको चलचित्रमा उनको काम पनि तारिफयोग्य देखिएको छ ।
चलचित्रमा समावेश केही संवादहरु दर्शकको नजरमा पर्न सक्छन् । ‘यहाँ व्वासोहरु झुण्डमा हिँडेर आफूलाई वाघ ठान्छन् । तर, वाघलाई के थाहा बाघ एक्लै आउँछ र एक्लै शिकार गर्छ ।’ यो बाहेक अन्य केही संवाद पनि दर्शकको नजरमा पर्न सक्छन् । जस्तै ‘हिजोसम्म स्यालको सरकार देखेकी थिइस्, आज बाघको सरकार देखिस्’ भन्ने संवाद पनि हिट हुने देखिन्छ ।
नेपालमा यो वर्ष एक्सन कथाका चलचित्रलाई रुचाइएको छ । यसैले, फरक शैलीको एक्सन र न्यायको कथामा बनेको यो चलचित्रले पनि दर्शकको साथ पाउने विश्वास गर्न सकिन्छ ।
प्रतिक्रिया