Bisal Chautari Logo

‘आउटल’ हेरेपछि दर्शक प्रतिक्रिया–‘एक्सन बबाल छ’

- ३० फाल्गुन २०८१, शुक्रबार १९:३८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ चैत्र १ शुक्रवार ।
बिहिबारबाट रिलिजमा आएको चलचित्र ‘आउटलः दफा २१९’ले दर्शकको सुखद प्रतिक्रिया पाएको छ । बिहिबार दिनभर काठमाडौंका विभिन्न हलमा पुगेका चलचित्रका कलाकारहरुले दर्शकसँग साक्षात्कार गरे ।

चलचित्रका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए ।
चलचित्र हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको थियो । चलचित्र हेरेपछि अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरे । चलचित्र हेरेर निस्किएकी एक युवतीले नायक सुशील श्रेष्ठको कामको तारिफ गर्दै भनिन्–‘सायद, यस्तो एक्सन नेपालमा अहिलेसम्म बनेकै थिएन होला । यस्तो चलचित्र आएपछि हामीले बलिउड र साउथको चलचित्र पनि हेर्नुपर्दैन । कथावस्तु पनि राम्रो छ ।’
काठमाडौं बाहिरका दर्शकले पनि फिल्म हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन् । चलचित्रको कथावस्तुले महिलाको कथा उठाएको छ । साथमा, चलचित्रको सस्पेन्स पाटो पनि गज्जब छ ।’
चलचित्र हेर्न हल पुगेका कलाकार गजित बिष्टले भने–‘सुरुवातको १० मिनेट चलचित्र केही स्लो छ । यसपछि चलचित्रले आफ्नो पकड मजबुत तरिकाले जमाएको छ । एक्सन त गज्जब नै छ । एक्सन मन पराउने दर्शकका लागि यो चलचित्र विशेष हुनसक्छ ।’
दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएपछि नायक सुशील श्रेष्ठ पनि उत्साहित देखिए । उनले भने–‘मैले ४ वर्ष एउटा उत्कृष्ट चलचित्रमा काम गर्छु भनेर नै अफर आएका थुप्रै चलचित्र छाडेको हुँ । आज दर्शकहरुले दिनुभएको मायाले उत्साहित छु ।’
चलचित्रका निर्देशक विक्की महर्जनले पनि २ वर्ष लगाएर आफूहरुले गरेको मिहिनेतमा दर्शकहरुले साथ दिएको भन्दै खुशी व्यक्त गरे । 

प्रतिक्रिया