बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ चैत्र ४ सोमवार । गत बिहीबार फागुन २९ गतेदेखि प्रदर्शन भएको ‘अञ्जिला’ हेर्न स्कुलका विद्यार्थीहरू हल पुगेका छन् । नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ मार्फत प्रेरणात्मक सन्देश प्रवाह हुने भएकाले स्कुलले आफ्ना विद्यार्थीलाई चलचित्र हेराएको जनाएका छन् ।
सोमबार दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युएफएक्समा डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका तीन सय ६० विद्यार्थीले चलचित्र हेरेका थिए । यस्तै, रिलिजको दोस्रो दिनदेखि देशभरमा सहरहरूमा पनि विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई यो चलचित्र देखाइरहेको निर्देशक मिलन चाम्सले बताए ।
‘अञ्जिला’ हेर्न कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई विभिन्न विद्यालयहरूले पठाइरहेका छन् ।डाफोडिल स्कुलका अरविन्द कुमार मण्डलले विद्यार्थीहरूलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले चलचित्र देखाएको बताए । “यो चलचित्र हेरेर हाम्रो विद्यार्थीहरूले ‘नेभर गिभ अप’ भन्ने सिकेका छन् । मैले आफैँले हेर्दा पनि मनोरञ्जनसँगै कप्तान सुब्बाको जीवनलाई बुझ्न पाएँ,” उनले बताए ।
यो चलचित्रले सङ्घर्ष, निरन्तरता र सफलता सिकाउने भएका कारण विद्यार्थीहरूलाई एकेडेमिक हिसाबले नै ‘अञ्जिला’ देखाइरहेको विद्यालयहरूले जनाएका छन् । निर्देशक चाम्सले यस चलचित्रको सन्देश नै सङ्घर्षले दिएको सफलता दीर्घायु हुन्छ भन्ने रहेको बताउँदै विभिन्न विद्यालयहरूलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरे ।
चलचित्रका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले ‘अञ्जिला’ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने बताए । उनले चलचित्रबाट सङ्कलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
‘अञ्जिला’ले पहिलो तीन दिनमा २ करोड ७ लाख ग्रस कलेक्सन गरेको जनाइएको छ ।
प्रतिक्रिया