बिशाल चौतारी समाचार
काठमाडौं,२०८१ चैत्र २६ मंगलवार। हाल छायांकन भइरहेको चलचित्र ‘कल्ली’को सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । यो चलचित्रको विगत केही सातादेखि जुम्लामा छायांकन भइरहेको छ । काठमाडौंमा केही दिन छायांकन गरेर यसको निर्माणपक्ष जुम्ला पुगेको हो ।
चलचित्रमा अर्पण थापाको लुक्सले दर्शकहरुमा कौतुहलता बढाउने देखिन्छ । निर्माणपक्षले फिल्ममा उनको भूमिका के हो भन्ने खुलाएको छैन ।
चलचित्रका निर्माता किरण नेपालीका अनुसार, अब एक सातामा छायांकन सकिनेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा हिमाल कडरिया र अमलादेवी राइको लगानी छ । महेश दवाडीको लेखन रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।
यो चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतको अभिनय छ ।
निसाल पौडेलको छायांकन रहेको यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । निर्माणपक्षले चलचित्रको छायांकन भइरहेको समयमा अर्पण थापाको लुक्स किन रिलिज गर्यो, त्यो आफैमा कौतुहलताको बिषय छ । तर, अर्पणले यस अघि यस्तो लुक्समा काम गरेका थिएनन् ।
लक्ष्मण सुनारको निर्देशनमा यो चलचित्र तयार भइरहेको हो ।
प्रतिक्रिया