Bisal Chautari Logo

जिम्मेवारी र माया बीचको सङ्घर्ष झल्काउने गीत ‘परिबन्ध’ सार्वजनिक

- १२ बैशाख २०८२, शुक्रबार १८:५४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,  २०८२ बैशाख १२ शुक्रवार।
सुरेन गौतमको स्वर, शब्द र कल्याण सिंहको सङ्गीतमा रहेको मर्मस्पर्शी गीत ‘परिबन्ध’ को भिडियो सार्वजनिक गरिएको छ ।  भिडियोले प्रेम र जिम्मेवारीबीचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत गरेको छ ।

सकु शाह र लोमस शर्मा अभिनीत भिडियोको निर्देशन पिटर गुरुङले गरेका हुन् । भिडियोको कथा देव र काव्या नामक दुई पात्रको दुःखद प्रेम यात्रामा केन्द्रित छ, जसको सुरुवात विद्यालय जीवनदेखि हुन्छ । एक अर्कामा गहिरो माया राख्ने उनीहरू भविष्यको सुनौलो सपना बाँड्छन्, तर जीवनको कठोर यथार्थले उनीहरूलाई बेग्ला दिशातर्फ डोर्‍याउँछ ।

काव्या आर्थिक अभावका कारण बिदेसिन चाहन्छे भने देव आफ्नी बिरामी आमाको हेरचाहमा समर्पित हुन्छ । एक अर्कालाई बिना जानकारीबाट सुरु भएको दूरी, अन्ततः नसोचेको बिछोडमा परिणत हुन्छ । काव्या विदेश पुग्छे तर देवसँगको टुटेको सम्पर्कले उसलाई भित्रभित्रै गलाउँछ । वर्षौँ पछि उनीहरू नेपालमै एक ध्यानस्थ स्थानमा आकस्मिक रूपमा भेटिन्छन्, भावनाले भरिएका आँखाहरूले कुरा गर्छन् तर उनीहरू मौन रहन्छन् । अन्ततः उनीहरू विगतको सम्झनासहित बेग्ला बाटो समाउँछन् ।

गीतले एउटा सन्देश दिन खोजेको छ – “सबै बिछोडहरू माया नहुँदा मात्र हुँदैनन्, कहिलेकाहीँ जिम्मेवारीको भारी बोझले पनि साथ छुट्छ ।”

प्रतिक्रिया