दीपक ओली
धनगढी, ३१ भदौ । बझाङका पत्रकाले चर्पी नभएका होटलमा चियानास्ता नखाने बताएका छन् । जिल्लालाई २०७० सालभित्र खुला दिसामुक्त घोषणा गर्ने अभियान सफल पार्न चर्पी नभएका जिल्लास्थित होटलमा उनीहरुले चियानास्ता नखाने निर्णय गरेका हुन् । उनीहरले आइतबार सदरमुकाम चैनपुरमा भेला भई यस्तो निर्णय गरेका हुन् ।
सदरमुकाम चैनपुरलगायतका अन्य स्थानीय बजारमा चर्पी नभएका होटलको संख्या धेरै भएको तथ्यांक आएपछि यस्ता होटल व्यवसायीलाई चर्पी बनाउन नैतिक दबाब दिने उद्देश्यले चियानास्ता नखाने निर्णय गरेको एक पत्रकारले बताए । ‘जिल्लाले थालनी गरेको अभियान सफल पार्नु पत्रकारको पनि दायित्व भएकाले यस्तो अभियान चलाएका हौँ,’ एक पत्रकारले भने, ‘अबदेखि जो– जहाँ चियानास्ता र खाना खाए पनि होटलवालालाई चर्पी भएरनभएको सोध्ने र चर्पी नभएको होटलमा केही खाने छैनौँ ।’ यसै सन्दर्भमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले युनिसेफको सहयोगमा आइतबार जिल्लास्थित पत्रकारसँग सरसफाइसम्बन्धी अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा ५ बुँदे सरसफाइसम्बन्धी प्रतिबद्धता पत्र जारीसमेत गरेको जोशीले जानकारी दिए । प्रतिबद्धता पत्रमा सरसफाइ अभियानलाई सफल पार्न पत्रकारले समाचारमा सरसफाइलाई उच्च प्राथमिकता दिने, समाचार संकलन गर्ने क्रममा सम्पर्कमा आएका व्याक्तिसँग समाचारको विषय जुनसुकै भए पनि तपाईंको घरमा चर्पी छ कि छैन भनेर सोध्ने, स्थानीय एफएमले चलाउने फोन इन कार्यक्रममा प्रत्येक टेलिफोन सम्पर्कमा आएका व्यक्तिसँग चर्पी भए नभएको बारे सोध्ने, सार्वजनिक पद धारण गरेका व्यक्तिले कातिक १ गतेसम्म पनि चर्पी नबनाएको भेटिएमा सञ्चारमाध्ययममा नाम प्रकाशनरप्रसारण गर्ने छन् । पत्रकारको यस्तो निर्णयले जिल्लालाई निर्धारित समयमा खुला दिसामुक्त गर्न ठूलो सहयोग पुग्ने जिल्ला सरसफाइ समन्वय समितिका संयोजक तथा बझाङका स्थानीय विकास अधिकारी र युवराज कटेलले बताए । सौर्य साभार
प्रतिक्रिया